www.tandavnews.com
Fact ~ In search of truth

विधेयक विधायन समितिमा

गण्डकी ।

गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गरेकाे प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । यसअघि विधेयकबारेको सामान्य छलफलमा सदस्यले समृद्धि र विकासका लागि आर्थिक अनुशासन अनिवार्य सर्त भएको बताए । प्रदेशसभा सदस्य राजीव पहारीले प्रदेशमा आर्थिक अनुशासनलाई प्रभावकारी बनाउनका लागि विधेयक महत्वपूर्ण बन्ने बताए । अर्का सदस्य दीपक कोइरालाले नीतिगत भ्रष्टाचार राज्यमा गम्भीर समस्याका रुपमा देखिएको बताउँदै यसको अन्त्य हुनुपर्ने धारणा राखे ।

Batas

प्रदेशसभा सदस्य सरिता गुरुङले अझै पनि असारे बजेटबाट मुक्त हुन नसकिएको बताउँदै यसको अन्त्यसहित बजेटको बाँडफाँड आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिए । अर्का सदस्य मीनप्रसाद गुरुङले सरकारको सफलता एवं असफलता आर्थिक क्रियाकलापले निर्धारण गर्ने बताउँदै आर्थिक गतिविधिलाई प्रभावकारी बनाउन विधेयकले अविभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य कुमार खड्काले भ्रष्टाचार गम्भीर समस्याका रुपमा देखिएको बताउँदै आर्थिक पारदर्शिता अनिवार्य सर्त भएको बताए । विधेयकमा उल्लेखित विषय संविधान र ऐनको बर्खिलापमा आउन नहुने उनले स्पष्ट पारे ।

छलफलमा प्रदेशसभा सदस्य कृष्ण थापा, हरिशरण आचार्यलगायतले आर्थिक अनुशासन कायम गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशका मन्त्री गुरुङले प्राप्त सुझावलाई आत्मसात गरिने बताए । हिजो आर्थिक कार्यविधि ऐनका रुपमा रहेकोमा यसलाई अझै पारदर्शी, थप स्पष्ट पार्नुपर्छ भन्ने सोचका साथ यो विधेयक ल्याइएको उनले स्पष्ट पारे । बैठकमा प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरे ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.