www.tandavnews.com
Fact ~ In search of truth

२० वर्षका ‘आशिष’, जसले आफ्नै साथीलाई खुकुरी हानेर मारे…

भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हिजो गाईफार्ममा खुकुरी प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । हत्यामा संलग्न काठमाडौँ गोठाटार घर भई सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाललाई प्रहरीले चारैतिर घेरा हाली पक्राउ गरेको छ । अनुसन्धानका क्रममा खुलालले सामान्य विवादमै खुकुरी प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार खुलाललाई भेट्न गाईफार्म पुगेका राई, महोत्तरी जिल्ला घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिष योञ्जन र सुनिल बलबीच कुराकानीकै क्रममा विवाद भएको थियो । राई र खुलालबीच विवाद भएपछि खुलालले कोठाबाट खुकुरी ल्याई राईलाई हान्न थालेपछि योञ्जन र बल झ्यालबाट भागेर ज्यान जोगाएका थिए ।

Batas

घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाको टोलीले हत्या गरी भाग्दै गरेका कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार स्थायी घर भई सिपाडोलमा गाईफार्ममा रहेका खुलाललाई पक्राउ गरेको हो । घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापासमेतको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको तथा घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ । खुकुरी प्रहारबाट मृतक राईको घाँटी र टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.