www.tandavnews.com
Fact ~ In search of truth

कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

नारायण अधिकारी
चितवन, रासस ।

पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताए ।

कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहेका खतिवडाले मानव स्वास्थ्यभन्दा ठूलो कुरा केही नहुने भएकाले भीडभाडमा बच्चालाई पठाउनु जोखिम भएको बताए ।

Batas

कोरोना भाइरस सङ्क्रमण जोखिम बढेसँगै जिल्लाका संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य रोबी केयुले एउटा कक्षामा तीन/चार जना विद्यार्थी कम आएको बताउनुभयो । उनले भने, “रुघा, खोकी र ज्वरो आएका विद्यार्थीलाई घरमा नै आराम गर्न भनेका छौँ ।”

सचेत अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन छाडेसँगै ठूला संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् ।

नारायणी नमूना मावि भरतपुरका प्राचार्य पूर्णप्रसाद दवाडीले आफ्नो विद्यालयमा एक जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएको र केही शिक्षक बिरामी परेको बताए । यस्तै अवस्था रही रहेमा विद्यालय सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले संस्थागत ्िवद्यालयमा विद्यार्थीको उपस्थिति घटेको भन्ने जानकारी प्राप्त भएको बताए । सातवटै पालिकाका शिक्षा प्रमुखसँग छलफल गरेर के गर्ने भन्ने विषयको टुङ्गो लगाउने उनको भनाइ छ । मन्त्रालय र विभागमा आफूले समन्वय गरिरहेको भन्दै उहाँले सम्पूर्ण विद्यालयलाई सावधानी अपनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिए । पछिल्लो समयमा बालबालिकामा समेत कोरोना सङ्क्रमण देखिन थालेपछि त्रास बढेको हो ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १३ पुगेको छ । जसमध्ये ९८ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये ११४ को मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कम उमेरकालाई सङ्क्रमण देखिन थालेको बताए । सबैले आ–आफ्नो ठाउँबाट स्वास्थ्य निर्देशिका कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत गरी ५३९ विद्यालय छन् । ती विद्यालयमा एक लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.