www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा चितुवा नियन्त्रणका लागि पोखरी निर्माण

तनहुँ ।

चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले १५ र सामुदायिक वनले १५ गरी ३० वटा पोखरी यसै आर्थिक वर्षभित्र सम्पन्न गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले उक्त अभियानकै रुपमा अघि बढाइएको डिभिजन प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौँतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताए ।

Batas

मानव बस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजीकमा देखापरेका मानव तथा पशुपालनप्रति आक्रमण गर्ने गरेको काफ्लेको भनाइ छ । मांसाहारीजन्य वन्यजन्तुका लागि खानेपानीको पोखरी र आहार प्रजातिका लागि कलिलो घाँस (घाँसे मैदान) व्यवस्था गर्ने गरी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न अभियानका रुपमा थालिएको छ । “वनजङ्गल झाडीले ढाकिँदै गएकाले मांसाहारी प्रजातिको वन्यजन्तुका लागि वासस्थानको व्यवस्थापन गर्दै आवश्यक पर्ने पानीका पोखरी र कलिलो घाँसलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने ।

जिल्लाको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास र शुक्लागण्डकी नगरपालिकामा रहेका वनजङ्गल आसपास पानीको पोखरी निर्माण गर्न लागिएको हो । डिभिजन वन कार्यालयबाट रु ५० हजारदेखि रु एक लाखसम्मको १५ वटा पोखरी निर्माण गर्ने योजना रहेको छ । सो वनमा आहार प्रजातिका वन्यजन्तुभन्दा मांसाहारीजन्यको सङ्ख्या बढिरहेको क्यामेरा ट्यापिङबाट देखिएको बताइएको छ ।

यस क्षेत्रमा चरीबाघ, चितुवा, स्याल बढिरहेको छ भने मृग, बँदेल नगण्य मात्रामा देखिएको छ । कुनै वन्यजन्तुको सङ्ख्या यकिन नभए पनि त्यसको अनुसन्धान डिभिजन वन कार्यालय तनहुँका निवर्तमान डिभिजन प्रमुख केदार बरालले गरिरहेका छन् । चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्याले बनाएर राख्न, घर वरपर झाडी पन्छाउन र पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाका सबैभन्दा बढी भानु नगरपालिका क्षेत्रमा चितुवाले आतङ्क बनाएको छ । उक्त क्षेत्रका वन क्षेत्रमा पानीको पोखरी निर्माणका लागि पालिका तहबाट नै निर्णय गरिएको भानु नगरपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिए । सो पालिकाको वडा नं १, २, ३, ४, १२ र १३ मा चितुवा तथा भालुले धेरै धनजनको क्षति बनाएको थियो ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.