www.tandavnews.com
Fact ~ In search of truth

फोहोरलाई मोहर : घोराही उपमहानगरपालिकाले फोहोर किन्ने, ग्यास उत्पादनको अन्तिम तयारी

देउखुरी ।

नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो । उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरीद गरेर पुनःप्रयोगमा ल्याउने कार्यक्रमको शुरुआत गरेको हो । गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरकाले जनाएको छ ।

घोराही उपमहानगरपालिकाले घर, पसल, उद्योगबाट निस्किएको फोहोरलाई किन्ने भएको छ । पूर्ण सरसफाइयुक्त नगर बनाउने उद्देश्यका साथ उपमहानगरले घर, बस्ती, टोलबाट निस्किएको फोहोरलाई मोहरमा बदल्ने योजना बनाउँदै फोहोर किन्ने भएको हो । नयाँ वर्ष २०७८ सालको शुभारम्भसँगै उपमहानगरले फोहोर किन्ने अभियान पनि यही वैशाख १ गतेदेखि शुरु गरेको छ ।

Batas

प्रतिकिलो फोहोर रु दुईदेखि २० सम्ममा उपमहानगरले किन्ने सरसफाइ व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए । उनका अनुसार बोटलसहित नरम पोलिथिन प्रतिकिलो रु १०, कपडा रु पाँच, सुर्तीजन्य प्लास्टिक रु दुई र गत्ता सहितका अन्य फोहोरलाई रु १० देखि २० सम्ममा उपमहानगरले किन्ने छ । उक्त फोहोर सङ्कलनका लागि उपमहानगरले टोलटोलमा गाडी पठाउने छ ।

उपमहानगरपालिकाले प्लास्टिक, लत्ता, कपडालगायत फोहोर खरीद गर्न थालेको छ । सङ्कलित फोहोरमध्ये नगल्ने फोहोरलाई उपमहानगरले बेच्ने र गल्ने फोहोरलाई वायोग्यास निकाल्नका लागि प्रयोग गरिने छ । “घोराहीमा फोहोर व्यवस्थापन गर्न वार्षिक रु दुई करोडभन्दा बढी रकम खर्च हुने गरेको छ र उक्त रकमलाई फोहोरसँगै सिधै जमीनमा गाडिएको छ”, घोराही–१४ का वडाध्यक्ष एवं सरसफाइ संयोजक डाँगीले भने , “अब भने फोहोरलाई पुनः प्रयोग गरेर उक्त रकमको सदुपयोग गरिनेछ ।”

फोहोर पुनः प्रयोग हुने भएसँगै घोराहीका नागरिकले फोहोर व्यवस्थापन गर्न अब पैसा तिर्नुपर्ने नभई पैसा कमाउने भएका छन् । घोराही उपमहानगरले गल्ने फोहोरबाट बायोग्यास निकालेर पाइपबाट घरघरमा ग्याससमेत पु¥याउने भएको छ । जसका लागि बायोग्यास प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करीब २० करोड लागतमा निर्माण हुन लागेको प्लान्टको अहिले ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र आउने मङ्सिर महिनाअघि काम सम्पन्न भइसक्ने घोराही उपमहानगरले जनाएको छ ।

उक्त वायोग्यास प्लान्टबाट अहिले तत्काल ७४० घरमा पाइपबाट घरघरमा ग्यास पु¥याउने योजना रहेको सरसफाइ व्यवस्थापन समितिका संयोजक डाँगीले जानकारी दिए । घोराही–१६ स्थित स्यानेटरी ल्यान्डफिल्ड साइटको तीन बिघा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त प्लान्टबाट तत्काल त्यस वरपर र नारायणपुर बजार क्षेत्रका घरघरमा पाइपबाट ग्यास वितरण गरिने छ । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँका बीचमा त्रिपक्षीय सम्झौता भएर उक्त प्लान्टको निर्माण भइरहेको छ ।

वायोग्यास प्लान्ट निर्माण गर्न २०७६ मङ्सिर ५ गते त्रिपक्षीय सम्झौता गरेर १४ महिनामा सक्ने भनिए पनि कोरोना महामारी आएसँगै काम रोकिएको थियो । अहिले भने काम धमाधम भइरहेको छ । सो प्लान्टबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी सल्लाहकार शेखर अर्यालले जानकारी दिए । नगरपालिकाका वडा नं १० र १६ का १६ सय घरधुरीमा पाइपमार्फत मिटर जडान गरी ग्यास वितरण गरिने उनले बताए ।

रासस
––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.