www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अलर्ट : पोखरामा छैन पर्याप्त तयारी , अक्सिजनको अवस्था सोधखोज गर्दै महानगर

पोखरा
ताण्डव न्यूज ।

कोरोना (कोभिड १९) को महामारी दिनानुदिन बढ्दै गएको छ । छिमेकी मुलुक भारत र नेपालकै पनि नेपालगञ्ज लगायतका स्थानमा अक्सिजन अभावमा संक्रमितहरुले ज्यान गुमाएका खबरहरु सार्वजनिक भैरहेका छन् ।
जटिल अवस्थामा पुगेका कोभिडका बिरामीलाई अक्सिजन अति आवश्यक हुन्छ । तर पोखरामा भने यस विषयमा पर्याप्त तयारी नभएको पाईएको छ ।

लेखनाथमा रहेको संक्रामक अस्पतालले एकै पटकमा ६० जनासम्म राख्न सक्छ । क्षमता ८० जनाको भएपनि ६० जनालाई मात्र अक्सिजनको सुविधा सहित राख्न सकिने पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए ।

Batas

“पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल अस्पतालमा आज अक्सीजनको पर्याप्तता बारे अनुगमनका लागि जाँदैछौँ । त्यसपछि मात्र अवस्था भन्न सकिन्छ” उनले ताण्डव न्यूजसंग भने । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति वार्ड भवनलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउन लागिएको जानकारी आफूले पाएको पौडेलले बताए ।

पोखरामा कति अक्सिजन आवश्यक पर्छ भन्ने बारेमा आफूले सबै अस्पतालहरुसंग जानकारी मागेको पोखरा महानगरका मेयर मान बहादुर जिसीले बताए । “थप तयारी गर्दैछौँ, आज साँझसम्म यस विषयमा केही जानकारी आउला” उनले भने ।

कास्कीको पछिल्लो एक हप्ताको मात्रै अवस्था हेर्ने हो भने पोखरा महानगरमा संक्रमण दर उकालो लाग्ने क्रममा छ । कास्कीमा गत आईतबार ३९ जना संक्रमति भेटिएका थिए । सोमबार ४४ जना, मंगलबार ४२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै बुधबार ५५ जना संक्रमित थपिएका थिए भने विहिबार ५१ जनामा संक्रमण पुष्टि भयो । शुक्रबार ६२ जना र शनीबार हिजो ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.