www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा अक्सिजन ‘सिलिन्डर सास्ती’, व्यवस्थापन कसरी गरिदैँछ ?

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

एउटा ‘कारुणीक तस्विर’ जस्ले सामाजिक सञ्जालमा प्रायको ध्यान तानेको छ । ‘कोभिड–१९’ कोरोना भाईरसको संक्रमणका कारण आफ्नो श्रीमानलाई अक्सिजन कम भएपछि धर्मपत्नीले कृत्रिम श्वास दिईरहेको देखिन्छ । तर उनको श्वासले श्रीमानलाई नयां जीवन भने दिन सकेन । श्रीमानले धर्मपत्नीको काखमै देह त्यागे ।

Batas

यो तस्विर छिमेकी मुलुक भारतको हो ।

अक्सिजन अभाव र अस्पतालमा बेड नपाउनु मृत्युको पहिलो कारण बनेको छ । यसकै लहर नेपालको बाँकेमा पनि झल्किरहेको छ ।

‘कोभिड–१९’ कोरोना भाईरसको दोस्रो लहरले नेपालमा पनि कब्जा जमाईसकेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि तुलनात्मक रुपमा संक्रमणको ग्राफ दिनानुदिन उकालो चढिरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

नागरिकले अक्सिजनको जोहो गर्दा सिलिन्डरको अभाव

कालीगण्डकी अक्सिजन ग्यास प्रालि र पोखरा अक्सिजन ग्यास प्रालि गरि पोखरामा निजी कम्पनीका दुई प्लान्ट छन् । यी दुई प्लान्टले दैनिक १२ सय सिलिन्डर अक्सिजन भर्न सक्छ । तर सिलिन्डरको अभाव रहेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले ताण्डव न्यूजलाई बताए । ‘उनीहरुसँग गरेको कुरा अनुसार हामी पुर्याउछम् भन्ने छ, उनले भने, ‘दैनिक करिब १२ सय सिलिन्डर भर्न सक्ने क्षमता छ त्यो धेरै ठुलो हो । त्यही भएर अक्सिजन उत्पादन भन्दा नी सिलिन्डर कति छन् भन्ने हो ।’

उनले नागरिकहरुले हतासिदै घरमा सिलिन्डर लैजानुले सिलिन्डर अभाव हुने अवस्था आउन सक्ने बताए । ‘नागरिकहरुले अहिल्यै घरमा सिलिन्डर लगेर राख्न अनावश्यक छैन । १ जनाले १५ दिन घर राख्यो भने १५ वटा बराबर घाटा भयो हस्पिटलमा रह्यो भने १५ पटक फिल हुन्छ, उनले थपे, ‘त्यसैले घरमा लगेर सिलिन्डर स्टक नगर्न अनुरोध छ ।’

पौडेले पोखरामा अक्सिजनको भन्दा सिलिन्डरको अभाव देखिएको बताए । ‘बजारमा सिलिन्डर किन्न पाईदैन । भारतबाट ल्याउने हो उता कोभिड देखिएपछि उतै रोकियो, उनले भने, ‘हामी अरुमा डिपेण्ड हुने भएपछि त त्यसै कमजोर भैयोनी ।’ तैपनी हामीसँग सिलिन्डर भयो भने भर्न तयार छौ भनेका छन् ।’

प्लान्ट हुने अस्पतालले सिलिन्डर कम राख्नुको कारण पनि महामारीको अवस्थामा प्रभाव पर्ने देखिन्छ ।

पौडेलका अनुसार पोखरामा मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा मात्रै प्लान्ट छन् भने अन्य अस्पतालहरु सिलिन्डरनै प्रयोग गर्दै आएका छन् । प्लान्ट हुने अस्पतालहरुसँग करिब ५०÷६० वटा (४७ लिटरको) सिलिन्डर रहेको बताउदै निजी अस्पतालसँग दर्जन मात्रै हुने गरेको पौडेलले जानकारी दिए ।

‘प्लान्ट हुनेले स्टक नै नराख्ने र सानातिना २५ बेडे अस्पतालहरुले १०÷२५ वटा राख्ने हो, उनले भने, ‘त्यसैले अलिकति सिलिन्डरको अभाव हुने देखिन्छ ।’

नागरिकले घरमा सिलिन्डर अनावश्यक रुपमा राख्नुले पनि सिलिन्डर अभाव सिर्जना भएको पौडेलको गुनासो छ । ‘व्यक्तिहरुले घरमा राख्नु त फाईदा भएननी । तापक्रम मिलेन भने पड्किन सक्छ, उनले थपे ‘रखाई मिलेन भने फेरी अर्काे डिजाज्टर ल्याउन सक्छ । त्यसैले हतासमा घरमा सिलिन्डर नराखौ । जुन जहाँ प्रयोग हुनुपर्ने त्यही प्रयोग भए राम्रो हुने हो ।’

पोखरा स्वास्थ्य विज्ञानको जिम्मा पोखरा अस्पताललाई

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले कोरोनाको महामारीलाई मध्यनजर गर्दै प्रसुती वार्डलाई पनि कोभिड वार्ड बनाउने तयारीमा रहेको बताए । ‘बनाउने क्रममै छौ कर्मचारी के कति चाहिने निकाल्दैछौ, उनले भने ‘अक्सिजन सप्लाईको व्यवस्था मिलाएपछि तयारी हुन्छ ।’

उनले अहिले उपचाररत ४०/५० विरामीलाई विज्ञान प्रतिष्ठानमा अक्सिजन पुगिरहेको बताउदै महामारीको समयमा भने टेण्डर पारेको पोखरा अस्पतालले जिम्मा लिने बताए । ‘हाम्रो टेण्डर प्रक्रियामा जति भएपनि सिलिन्डर पुर्याउनुपर्ने भन्ने छ अहिले पोखरा हस्पिटलले पारेको छ, उनले भने, ‘मैले दुई तिन दिन अघि नै भनेको छु हामीलाई जति चाहिएपनि सिलिन्डर पुर्याउन पर्छ भन्दा हुन्छ भनेका छन् ।’ उनका अनुसार अक्सिजन खपत संक्रमितको अवस्थामा भर पर्छ । ‘दुई लिटरको दिईयो भने २४ घण्टा पनि हुन्छ । ५०÷६० को दिईयो भने २ घण्टामै पनि सकिन्छ ।’ डा. आचार्यले भने ।

सामाजिक विकास मन्त्रालयसँग कोरोना बेड संख्या बारे छैन तथ्याङ्क

सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. राम बहादुर केसीले आफुहरुसँग निश्चित तथ्याङ्क नरहेको टिप्पणी दिए । यसअघि पनि उनिसँग कोरोना संक्रमितहरुका लागि पोखरामा कति बेड छ भनी प्रश्न गर्दा पछि फोन गरेर जानकारी दिने बताएका थिए । फेरी दोस्रोपटक सम्पर्क गर्दा समेत अर्काे पटक तथ्याङ्क उपलब्ध गराउने भन्नुले नै उनीहरुको तयारी फितलो रहेको प्रष्ट हुन्छ ।

ताण्डवकर्मीले सम्पर्क गर्दा डा. केसीले भने, ‘महामारी भो भने हामी बेड अपडेट गर्दैछौ । हजुरलाई म ३ बजे सम्म ठ्याक्कै भन्दिहाल्छु ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.