www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौं:कोरोना खोप केन्द्रको भीड व्यवस्थित गर्न माग

काठमाडौं ।

कोभिड–१९ विरुद्धको खोप लगाउन भीड बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा खोप लगाउन दैनिक हजारौँ मानिस लाममा बस्न थालेका छन् । चावहिलभन्दा माथि नेपाल मेडिकल कलेजमा मात्र खोप लगाउने केन्द्र तोकिएपछि वरपरका अन्य स्थानीय तहका साथै सीमा जोडिएका सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय तहका मानिससमेत खोप लगाउन आउन थालेका छन् ।

Batas

बिहान १०ः०० बजेदेखि खोप लगाउन ५ः०० बजेदेखि नै मानिस लाममा बस्न आउन थालेका छन् । खोप लगाउन लाममा बसेपछि भीड हुन थालेपछि छाडेर हिँडेको गोकर्णेश्वर–७ का मङ्गलबहादुर तामाङले गुनासो गरे । अन्य स्वास्थ्य संस्थामा पनि खोप लगाउन तोकेर कम भीड गर्न सकिने भए पनि यसतर्फ सरोकार भएका निकायले ध्यान नदिएको उनको भनाइ छ ।

गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारबाट आएको खोप जिल्ला जनस्वास्थ्य कार्यालयले नै केन्द्र तोकेर लगाएकाले स्थानीय सरकारलाई यस विषयमा समन्वय नगरिएको बताउछन् । नगरपालिकालाई खोप दिए व्यवस्थित रुपमा लगाउने व्यवस्था मिलाउँ छौँ भनी माग गर्दा पनि पाउन नसकिएको शाखाले जनाएको छ ।

जनस्वास्थ्यबाट खोप केन्द्र संयोजकका रुपमा खटिनुभएका डा निश्चल ढकाल शुरुका केही दिन मानिस नआएकामा विगत तीन दिनअघिदेखि हजारौँ मानिस लाममा बस्न थालेको बताउछन् । कलेज खोप केन्द्रमा शुरुका केही दिन पाँचदेखि सात जनाले मात्र खोप लगाएका थिए ।

पछिल्लो तीन दिनदेखि भने दैनिक एक हजारदेखि एक हजार ५०० सम्मलाई खोप लगाउन थालिएको छ । कर्मचारी सङ्ख्या, भीड व्यवस्थापनलगायत कारणले त्यसभन्दा बढीलाई एकै दिन खोप लगाउन नसकिने उनको भनाइ छ ।

हजारौँ मानिस लाममा बसिरहेका बेला बीचबीचबाट दबाबका आधारमा मानिस छिराउने गरेकाले समस्या हुने गरेको पनि लाममा बस्नेको गुनासो छ । प्रहरी परिचालन गरेर खोप केन्द्रमा लाममा बस्नेलाई खोप लगाउने व्यवस्था गर्न तीन घण्टादेखि लाम बस्ने रचना भुजेलले माग गरे । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.