www.tandavnews.com
Fact ~ In search of truth

कुश्मामा शनिबार रातीदेखि एक हप्ता लकडाउन

पर्वत,
ताण्डव न्यूज।

कोभिड–१९ संक्रमणको जोखिम बढिरहेको बेलामा पनि बजारमा चहलपहल नियन्त्रणमा नआएपछि पर्वत सदरमुकाम कुस्मा बजारमा शनिबार(भोली)बाट एक हप्ता लामो लक डाउन गरिने भएको छ ।

नयाँ भेरीएन्ट सहित आएको दोस्रो लहरका संक्रमणका कारण सदरमुकाम समेत रहेको कुस्मा नगरपालिकामा उच्च जोखिम भएको तथा संक्रमणको दर पनि बढ्दै गएपछि भोली राती १२ बजेदेखि लागू हुने गरी वैशाख २५ गतेसम्म एक साताका लागि लक डाउनको निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताए ।

Batas

कुस्मा नगरपालिकाले वडा नं.–१ पाङ, ४–कुस्मा, ५–कुस्मा, ६–कुस्मा, ७–कुस्मा, ८–चुवा र ९–कटुवाचौपारीका वडा कार्यालय सहित त्यहाँका नागरिकहरू जोखिमयुक्त अवस्थामा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा लकडाउनको लागि अनुरोध गरेको थियो । तर डिसीसीएमसीको बैठकले भने पाङ, चुवा र कटुवाचौपारीलाई छोडेर बजार क्षेत्र रहेको वडा नं। ४, ५, ६ र ७ मा मात्रै लागू हुने गरी लकडाउनको निर्णय गरेको हो ।

लकडाउनको अवधिमा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन निषेध गर्ने, एम्बुलेन्स, दमकल, शबबहान, खाद्य सामग्री तथा पशुपक्षीका दाना, तरकारी, फलफूल, दूध डेरी जन्य उत्पादन, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, सञ्चारकर्मी लगायतका अत्यावश्यक सवारीसाधनलाई परिचयपत्रका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै खाद्य सामग्री तथा अत्यावश्यक सेवाका पसलहरूलाई वैशाख १९ गते बिहान देखि लागु हुने गरी बिहान सात बजेदेखि १० बजे सम्म र साँझ चार देखि ७ बजेसम्म मात्रै त्यो पनि अनिवार्य रूपमा सामाजिक दुरी कायम गरेर मात्रै सञ्चालनमा ल्याउने गरी निर्णय गरेको छ। लकडाउन अवधिमा औषधि पसलहरू भने पूर्ण रूपमा सञ्चालनमा रहनेछन् । बैङ्क तथा बित्तिय संस्थाहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरी अत्यावश्यक सेवाहरू मात्र प्रवाह गर्न भनिएको छ ।

बजार क्षेत्रमा मानिसहरूको भिडभाड नियन्त्रण गर्न तथा गाउँ र बजारमा आउजाउ गर्ने क्रमलाई रोकेर सङ्क्रमण फैलने दरलाई नियन्त्रणमा लिन वैशाख २५ गतेसम्म नै सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ । यो अवधिमा प्रशासनले अनुमति दिएका सवारी बाहेक अन्य सवारी साधनहरू गुड्न पाउने छैनन् ।

तर मध्य पहाडी लोक मार्गमा पर्वत हुँदै बागलुङ, मुस्ताङ, म्याग्दीबाट पोखरा वा देशका अन्य ठाउँमा सिधा रूपमा चल्ने सवारीलाई भने अवरोध नहुने जिल्ला प्रशासन कार्यालय बताएको छ । मध्य पहाडी लोक मार्गमा पनि आन्तरिक सवारीहरू भने चल्न नपाउने भनिएको छ । यदि कसैले पनि यो निर्णयलाई उल्लङ्घन गरेको पाइएमा संक्रामक रोग ऐन–२०२० तथा स्थानीय प्रशासन ऐन–२०२८ अनुसार कारबाही गरिने भनिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.