www.tandavnews.com
Fact ~ In search of truth

कोरोना सङ्क्रमण भयावह बन्दै, बालबालिका जोखिममा

दुर्गा देवकोटा
टीकापुर, रासस ।

कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयावह बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । कैलालीका दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ । यस्तै कञ्चनपुरका पाँच पुरुष र एक महिला गरी छ जनाको मृत्यु भएको छ भने बझाङका एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । सुदूरपश्चिममा दैनिक कोरोना सङ्क्रमित सयौँ थपिन थालेका छन् ।

सुदूरपश्चिममा शनिबार थप २४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ५५२ नमूना परीक्षण गर्दा २४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये कैलालीको धनगढीका मात्रै ११३ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका अन्य पालिकाका ९१ र अन्य जिल्लाका ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

Batas

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ७१५ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण १०० जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी रहेको बताइएको छ । तीमध्ये सेती अस्पतालमा ५९ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये तीन जना भेन्टिलेटरमा, १७ आइसीयूमा र ३४ अक्सिजन सपोर्टमा उपचाररत छन् । यता टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित र लक्षण देखिएका नौ जनाको उपचार भइरहेको छ । उपचाररत रहेका पाँच कोरोना सङ्क्रमित र चार परीक्षणको नतिजा आउन बाँकी रहेकाहरुको उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचार भइरहेकामध्ये छ जनामा अक्सिजनको कमी भई अवस्था गम्भीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टीकापुर अस्पतालमा दैनिक १० देखि २० जनासम्म कोभिड लक्षण भएकाहरु उपचारमा आउने गरेका डा रमेश उपाध्यायले जानकारी दिए । “लक्षण देखिएका तर जटिल समस्या नभएकालाई होम आइसोलेशनमा बस्न भनेका छौँ, जटिल समस्या भएका, श्वासप्रश्वासमा समस्या भई अक्सिजन कमी भएकालाई यहाँ अक्सिजन दिई उपचार गरिरहेका छौँ”, डा उपाध्याय भन्छन् , “कोरोना लक्षण देखिएका सबैलाई अस्पतालमा राखेर उपचार गर्न सम्भव छैन ।”

टीकापुर अस्पतालमा जनशक्ति अभाव भएकाले अस्पतालले कर्मचारी भर्नाका लागि सूचनासमेत गरेको छ । अस्पतालले दुई चिकित्सक, १५ स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अनमी र अहेवका लागि दरखास्त खोलेको छ ।

बालबालिका जोखिममा

कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै गएपछि बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । समुदायस्तरमै कोरोना फैलिँदै जाँदा बालबालिकलाई सङ्क्रमणबाट जोगाउन टीकापुर अस्पतालका बालरोग विशेषज्ञ अमरनाथ ठाकुरले बताए । “यो समय भाइरल ज्वरो, रुघाखोकीको समय पनि हो । बालबालिकामा सामान्य समस्या देखिँदैमा आत्तिन हुँदैन”, डा ठाकुरले भने, “बालबालिकामा श्वासप्रश्वासमा समस्या भयो, निमोनियाका लक्षण देखिएमा अस्पताल लैजानुपर्छ । सामान्य रुघाखोकी, ज्वरो भए दुई÷तीन दिनमा आराम हुन्छ ।”

कैलालीमा निषेधाज्ञा लम्ब्याइयो

कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएकाले कैलालीमा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)को शनिबार बसेको बैठकले वैशाख ३० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो । यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्थाले वैैशाख २० देखि ३० गतेसम्म बिहान ९ देखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने व्यवस्था गरिएको छ ।

एकतिर कोरोना सङ्क्रमण फैलँदैछ भने अर्कोतर्फ भारतबाट नेपाल फर्कने नेपालीको सङ्ख्यासमेत बढ्दै गएको छ । भारतबाट नेपाल फर्कने नेपाली सिधै गाउँ पस्ने गरेका कारण समुदायमा थप जोखिम बढाएको छ । सुदूरपश्चिमका नाकामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव हुन थालेको छ । प्रदेशका सीमा नाकामा भारतबाट फर्किने नेपालीको सङ्ख्या बढिरहेका बेला एन्टिजेन किटको अभाव हुन थालेकाले थप जोखिम बढेको हो ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको पुलघाट नाकाबाट दैनिक दुई हजारदेखि दुई हजार ५०० को सङ्ख्यामा नेपाली सुदूरपश्चिम भित्रिरहेका छन् । तीमध्ये थोरै सङ्ख्यामा मात्र परीक्षण हुने गरेको छ ।

गौरीफण्टा नाकाबाट दैनिक झण्डै एक हजार भित्रिए पनि १०० देखि १५० जनासम्मको मात्र कोरोना परीक्षण हुने गरेको छ । किट अभावका कारण आवश्यकतानुसार कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । कोरोना सङ्क्रमितको उपचार गर्न सक्ने अवस्था नभएपछि कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी शुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आजदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालिने जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.