www.tandavnews.com
Fact ~ In search of truth

शव व्यवस्थापनमा देखिने समस्यामा सहयोग पुर्‍याउन आग्रह

काठमाडौं ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कोभिड–१९ दोस्रो भेरिएन्ट लहरसहितको संक्रमण तीव्ररुपमा बढिरहेको सन्दर्भमा नागरिकले पाउने सेवा उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी, बेड, एम्बुलेन्स, औषधि उपचारको आवश्यक प्रबन्ध मिलाउन तीनै तहका सरकारलाई अनुरोध गरेको छ ।

महासंघले आफ्नो सञ्जाल तथा नागरिक समाजसँग समन्वय गरी नागरिक समाज र समुदाय परिचालनमा विशेष जोड दिई कार्य अगाडि बढाउनसमेत सरकारसँग आग्रह गरेको छ ।

Batas

महासंघका अध्यक्ष भारती पाठकले आज विज्ञप्तिमार्फत दैनिक श्रम गरेर खाने किसान, उपभोक्ताले संरक्षण गरेको वन पैदावार उपभोगमा लगाइएको रोकावट तत्काल खुल्ला गर्न माग गरेका छन् ।

साथै सामुदायिक वन उपभोक्ता समूहलाई कानूनमा व्यवस्था भएको स्वायत्त अधिकारको सम्मान गर्दै वन पैदावार उपभोगमा सहजता र वनमा आधारित साना उद्यम सञ्चालन तथा रोजगारी सृजना गर्ने व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।

कार्ययोजनाको अवधि सकिएर कामलाई निरन्तरता दिन नसकिएका सामुदायिक वन उपभोक्ता समूहलाई कोभिड–१९ महामारीको समयमा वन व्यवस्थापनदेखि गरिब विपन्नको जीविकोपार्जनसँंग सम्बन्धित कार्यक्रम सञ्चालन गरी कार्य अगाडि बढाउनुपर्ने महासंघको सुझाव छ ।

अध्यक्ष पाठकले सरकारले गरेका आह्वानलाई पालना गर्दै, गाउँगाउँमा सचेतना अभिवृद्धि गर्न, वन पैदावार सही तरिकाबाट व्यवस्थापन गर्न, गाउँ टोलमा मनोविमर्श कार्यक्रम सञ्चालन गर्न तथा स्वास्थ्य सुरक्षाको सामग्री र खाद्यान्न गरिब विपन्न समुदायलाई स्थानीय सरकारसँग समन्वय गरी उपलब्ध गराउन सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहले मुलुकभर क्वारेन्टिनका लागि व्यवस्था गरिएको एक हजार ४०० सामुदायिक वनको भवनमा सम्बन्धित निकायसँग परामर्श गरी स्थानीय फर्निचरलगायत आवश्यक सामग्री व्यवस्थापन गरी सामुदायिक भवन तयारी अवस्थामा राख्नसमेत आग्रह गरेका छ ।

स्थानीयस्तरमा आवश्यकपर्ने वन पैदावर, दाउरालगायत अन्य कच्चा पदार्थ भई परिआउने समस्या समाधानका लागि प्रशासन र सम्बन्धित निकायसँंग परामर्श गरी विधान कार्ययोजनाबमोजिम व्यवस्थापनमा सहयोग गर्न महासंघले आह्वान गरेको छ ।

साथै यस विषम परिस्थितिमा कुनै पनि जिल्ला वा पालिकाभित्र शव व्यवस्थापनमा समस्या सृजना भएमा सामुदायिक वन उपभोक्ता समूहले यस समस्यालाई मध्यनजर गर्दै वातावरणमा प्रतिकूल असर नपर्ने गरी स्थानीय सरकारसँग समन्वय गरी मानवीय हिसाबले व्यवस्थापनमा सहयोग पु¥याउन उहाँले आग्रह गरेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.