www.tandavnews.com
Fact ~ In search of truth

विवाह र पूजामा हुने जमघटबाट संक्रमण वृद्धि

स्याङ्जा ।

विवाह तथा पूजामा मानिसको जमघटबाट स्याङ्जाका दुई बस्तीमा संक्रमण उच्च रहेको छ ।

वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथा चौरासी पूजामा सहभागी भएका अधिकांशमा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिए ।

Batas

कल्लेरी गाउँमा आयोजना गरिएको विवाहमा सहभागी भएकामा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि आइतबार गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । ‘कल्लेरी गाउँमा स्वास्थ्य समस्या देखिएको खबर पाएसँगै गह्रौँ प्राथमिक अस्पतालका चिकित्सकसहितको टोलीले गाउँमै पुगेर एन्टिजिनमार्फत परीक्षण ग¥यौँ’, शाखाप्रमुख पाण्डेले भने, ‘परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना पुष्टि भयो, उनीहरुलाई आवश्यक औषधि तथा परामर्शसहित फर्कियौँ ।’

संक्रमणको दर उच्च रहेकाले कल्लेरी गाउँलाई सिल गरी आवतजावतमा कडाइ गरिएको छ । हाल उक्त गाउँमा ४० बढी संक्रमितको संख्या छ । तीन÷चार जनामा केही समस्या देखिए पनि अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको शाखाप्रमुख पाण्डेले बताए ।

त्यस्तै धरमपानीमा यही वैशाख १४ गते गाउँमा आयोजना गरिएको चौरासी पूजामा सहभागी भएकाहरुमा गरिएको परीक्षणमा एउटै गाउँका १९ जनामा संक्रणम पुष्टि भएको छ । पूजामा सहभागी भएकामा लक्षण देखिएपछि २५ जनाको नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको वडा नं १ का वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताए ।

बाक्लो बस्ती रहेको गाउँमा चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेलगायतका समस्या देखिएपछि परीक्षणका क्रममा ठूलो संख्यामा संक्रमित रहेको पुष्टि भएको हो ।

नगरपालिका तथा गह्रौँ प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गरेको थियो । गाउँभरि संक्रमित देखिएपछि तत्कालका लागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी सिल गरिएको प्रवक्ता काफ्लेले बताए।

गाउँमै पुगेर आवश्यक औषधि वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेकाले प्राथमिक अस्पतालको अक्सिजनसहितको आइसोलेशनमा ल्याएर उपचार गरिने शाखाप्रमुख पाण्डेले जानकारी दिए। विवाह, भोज, पूजाआजा तथा अन्य जमघट हुने कार्यहरुमा थोरैभन्दा थोरै जना सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ ।

यस्ता कार्यहरु मिलेसम्म नगर्न र गर्नैपर्ने भए स्वास्थ्यसम्बन्धी मापदण्डभित्र रही उच्च सतर्कताका साथ गर्न पनि नगरपालिकाले सूचनामार्फत अनुरोध गरेको छ । जिल्लाका ११ पालिकामध्ये सबैभन्दा धेरै सङ्क्रमितको संख्या वालिङमा छ । वालिङमा बिहीबार साँझसम्म २२० भन्दा धेरै संक्रमित छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.