www.tandavnews.com
Fact ~ In search of truth

मकवानपुरमा अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने

मकवानपुर ।

समुदायस्तरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ ।

नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताए ।

Batas

‘हाल नगरपालिकाभित्र छ वटा एम्बुलेन्स सञ्चालनमा छन्, नगरमा कोरोना संक्रमणको दर बढ्दै गएकाले यहाँ सञ्चालित अटोहरुलाई पनि तयारी अवस्थामा राख्न लागिएको छ’, उपप्रमुख गोपालीले भने । समयमै एम्बुलेन्स पाउने अवस्था नहुन सक्ने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको उनको भनाइ छ ।

नगरपालिकाले नगरस्थित अटो व्यवसायी सङ्घसँग प्रत्येक वडामा एउटा अटोलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्नेगरी सहमति गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । सामान्यतया ती अटोले वडाबाट नगरभित्रको स्वास्थ्य संस्थासम्म बिरामी पु¥याउनेछन् । त्यसरी प्रयोग हुने अटोका चालक पछाडिको भागमा प्लास्टिकले बारेर सुरक्षित बनाइनेछ ।

बिरामी बोक्न प्रयोग नभएको अवस्थामा ती अटोलाई अत्यावश्यक सामान ढुवानीमा समेत प्रयोग गर्न सकिने गरी सहमति भएको नगरपालिकाका सूचना अधिकारी भुजेलले बताए । नगरमा वडा नं ३ मा २३ र ४ मा ११ जनासहित हाल ८० व्यक्ति कोरोना संक्रमित छन् । उनीहरुमध्ये ७६ जना ‘होम आइसोलेशन’ मा रहेका छन् भने चार जनालाई विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.