www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीबाट विश्वासको मत लिन आह्वानः अधिवेशन शुरु

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउए।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

Batas

त्यसलगत्तै सभामुखले अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरे । उक्त प्रयोजनका लागि सदस्यमा डा डिला संग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम मनोनयन गरिएको छ ।

यसअघि बैठकमा गणतन्त्र र लोकतन्त्रका लागि जीवन आहुति दिने शहीदका सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । बैठकमा सभामुख सापकोटाले प्रधामन्त्री ओलीले संविधानबमोजिम विश्वासको मत लिन सूचना दिएकाले सो प्रयोजनका लागि १५ मिनेटपछि अर्को बैठक बस्ने जानकारी गराए । बैठकमा भाग लिन प्रधानमन्त्री अपराह्न १ः०५ बजे त्यहाँ पुगेका थिए ।

अर्को बैठकमा प्रधानमन्त्री शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रस्ताव टेबल गरिएसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्य शुरु गर्नेछन् । मन्तव्यका क्रममा प्रमले प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नेछन् ।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन प्रकारका मत जाहेर गर्ने व्यवस्था गरिएको छ ।

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ ।

त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन् । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिने छन ।

मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकाहरुलाई मुख्य सभाकक्ष र पोजिटिभ संक्रमणलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको छ । हाल कोरोना संक्रमणबाट २८ सांसद प्रभावित भएको बताइएको छ ।

नेपाल समूह अनुपस्थित

सत्ताको नेतृत्व गरिरहेको नेकपा(एमाले)भित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद्को यो अधिवेशन राखिएको छ । एमालेको माधवकुमार नेपालले नेतृत्व गरेको समूहले भने अधिवेशनमा उपस्थित नहुने जनाइसकेको छ ।

संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्था नुसार नेकपा ९माओवादी केन्द्र०ले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ । सांसद विजयकुमार गच्छदार, मोहम्मदआफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।

प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिने छन । अधिवेशनमा २६६ सांसदले मतजाहेर गर्नेछन् ।

प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतमा एमालेका १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ ।

सुरक्षा मापदण्ड

कोभिड–१९ संक्रमणलाई हेक्का गर्दै अधिवेशनमा सांसद्का लागि सिट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्को सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य

सेवा विभाग र नेपाल चिकित्सक संघका पदाधिकारीसगँको परामर्श र सुझावका आधारमा सिट व्यवस्थापन गरिएको छ ।

बैठक कक्ष प्रवेश गर्नुअघि सांसदका लागि पिसिआर परीक्षण गरिएको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । मास्क र सेनिटाइजरको प्रयोग कडाइका साथ पालन गराइएको छ ।

कोभिड–१९ संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेका बेला हुन लागेको अधिवेशनबाट नेपालको राजनीति पनि नयाँ चरणमा प्रवेश गर्ने अनुमान गरिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.