www.tandavnews.com
Fact ~ In search of truth

बहराइनका राजकुमारसहितको टोलीले सगरमाथा आरोहण गर्यो

काठमाडौँ ।

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ ।

बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शिविरमा रहेकी विभागका निर्देशक मीरा आचार्यले सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् , “सन् २०२१ मे ११ स्थानीय समय बिहान ६ः४० बजे बहराइनको राजपरिवारका सदस्यसहितको टोली सगरमाथाको शिखर तथा नेपाली गौरव, शान तथा अनुपम सम्पत्ति सगरमाथाको सफल आरोहण गरेको जानकारी प्राप्त भएको छ । सफल आरोहीलाई सगरमाथा जतिनै उच्च बधाई ।”

Batas

बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।

वसन्तयामको सगरमाथा आरोहणका यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेको (रोप फिक्सिङ) गरेपछि व्यावसायिक आरोहण शुरु भएको थियो ।

पर्यटन मन्त्रालयका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

सगरमाथासहितका विभिन्न १९ हिमाल तथा पिक आरोहणका लागि विभिन्न २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका हुन् । वसन्तयामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.