www.tandavnews.com
Fact ~ In search of truth

निषेधाज्ञामा तनहुँ जलविद्युत आयोजनाको काम धमाधम

तनहुँ ।

कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द छन् । निषेधाज्ञाका बीचमा पनि एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम भने धमाधम भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले जनाएको छ । गत वर्षको निषेधाज्ञामा पनि आयोजनाको काम रोकिएको थिएन ।

Batas

आयोजनाको तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । प्याकेज १, प्याकेज २ र प्याकेज ३ का कामहरु धमाधम सञ्चालन भइरहेको घिमिरेले बताए ।‘निषेधाज्ञामा काम रोकिएको छैन, सबै सुरक्षा अपनाएर कामलाई गति दिएका छौ,’ उनले भने ।

केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गर्न तयारी थालिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्र. लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

घिमिरेका अनुसार भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरु फिल्डमा खटिएका छन् । दुवै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताए ।

प्याकेज २ अन्तर्गतको विद्युतगृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी तीन सय ७० परिचालित छन् । प्याकेज २ को कामका लागि दुई सय ५० श्रमिक क्याम्पभित्रै छन् । कोरोना जोखिम भएका कारण वरपरका केही सीमित श्रमिकमात्रै काममा परिचालन गरिएको छ ।

‘बाहिरका श्रमिकलाई पनि भित्रै राखेर काम गराउने गरी तयारी गरिएको छ, आवतजावत हुँदा जोखिम हुने भएकाले सबैलाई भित्रै राखेर कामलाई गति दिन्छौ,’ घिमिरेले भने ।

यो प्याकेजका लागि ४५ जना चिनियाँ पनि परिचालित छन् । प्याकेज २ अन्तर्गत सात भागमा एकैचोटि काम भइरहेको छ । यो प्याकेज अन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युतगृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य भइरहेको छ ।

प्याकेज ३ अन्तर्गतको प्रशारणलाइन निर्माणका लागि ३० जना श्रमिक परिचालित छन् । प्रशारण लाइन निर्माणका लागि टावर फाउण्डेशनको काम जारी छ । २३ वटा टावर निर्माणका लागि काम सम्पन्न भइसकेको र दश ठाउँमा काम शुरु भइरहेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.