www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या

नवीन लामिछाने
मनाङ, रासस ।

नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना फैलिएपछि बढ्दो सङ्क्रमितको सङ्ख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ । उपचारको समस्या न्युनीकरण भएको छैन भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका सङ्क्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले जानकारी दिए ।

“जिल्लामा तीन कोभिड अस्पतालमा डाक्टर छैनन्, आइसोलेसन नहुँदा टेन्टमा राखेर सङ्क्रमितको उपचार गर्नु परिरहेको छ”, लामिछानेले भने, “सङ्क्रमितको स्वास्थ्य जटिल भएमा हेलिकप्टर चार्टड गरेर पोखरा वा काठमाडौं पु¥याउनुको विकल्प छैन ।” समयमा हेलिकप्टर आउने अवस्था नहुँदा सङ्क्रमितलाई अस्पतालको पहुँचसम्म पु¥याउन समेत मुश्किल छ ।

Batas

स्थानीय तहले आइसोलेसन वार्ड तयार पारिरहे पनि सम्पन्न भएका छैनन् । त्यसैले केही दिनअघि सङ्क्रमण पुष्टि भएका एक दम्पतीलाई टेन्टमा राखेर तीन दिनसम्म उपचार गर्दा स्वास्थ्य जटिल भएपछि पोखरा लगिएको थियो । प्रजिअ लामिछानेले आइसोलेसन निर्माण हुँदै गरेकाले तत्कालको लागि त्यसरी नै टेण्टमुनि राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए । उनीहरूको अवस्था जटिल बन्दै गएपछि हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइएको प्रजिअ लामिछानेले बताए ।

उनका अनुसार जिल्ला अस्पतालमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङ्क्रमितलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा र एक विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । जिल्लावासीको स्वास्थ्यमा समस्या भएमा हेलिकप्टरबाट नै उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।

आइसोलेसन निर्माणको अन्तिम चरणमा भनिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सक्ने अवस्था छैन । जिल्ला अस्पतालको नयाँ भवनको निर्माण भइरहेको र पुरानो भवनमा सङ्क्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ । स्थानीय तहले निर्माण गरिरहेका आइसोलेसन केही दिनमा निर्माण सम्पन्न हुने र सञ्चालनमा ल्याइने प्रजिअ लामिछाने बताउछन् ।

मनाङमा जिल्ला अस्पतालको नयाँ भवन बनिरहँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीको पनि अभाव छ । कोभिड र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सकदेखि कर्मचारीसको अभाव छ । कोरोना सङ्क्रमितको उपचारको लागि बन्दै गरेको आइसोलेसनमा सेवा प्रवाह गर्ने चिकित्सकको अभाव रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । अस्पतालको भवन निर्माण भएपनि त्यहाँबाट सेवा प्रवाहका लागि आवश्यक पर्ने चिकित्सक, ल्याव टेक्निसियन, रेडियोग्राफी, स्टाफ नर्स, अनमी र सरसफाई कर्मचारीको अभाव छ ।

विकट क्षेत्र भएकाले पनि यहाँको सेवामा चिकित्सक, कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको सधैंजसो अभाव रहने गर्दछ । जिल्ला अस्पताल मनाङका निमित्त प्रमुख डा प्रतिभा गौली यहाँ भएका भेन्टिलेटर र आइसियु कक्ष सञ्चालन गर्नसक्ने जनशक्ति समेत नभएको बताउछिन् । जनशक्तिको अभावका कारण सबै उपकरण सञ्चालनमा ल्याउन नसकिएको उनले बताउइन् ।

“यहाँ आइपुगेका सामग्री समेत उपयोग गर्न सकेका छैनौं, के गर्नु कर्मचारी अभावले यी सामग्री चलाउने अवस्था छैन”,उनले भनिन्, “ठूलो मात्रामा सामग्री आइनपुगे पनि थोरै सामग्रीबाट पनि सेवा प्रवाह गर्न समस्या छ ।” मनाङका हुने खाने घरपरिवारका व्यक्ति मात्र अस्पतालको स्वास्थ्य पहुँचमा पुग्छन् । यहाँका विपन्न वर्गलाई अस्पतालको पहुँच सहज छैन ।

पहिलो चरणको कोभिडबाट यहाँ कम मानिसमा सङ्क्रमण देखिएपनि दोस्रो चरणमा विगतको भन्दा दोब्बरमा सङक्रमण पुष्टि भएको छ । पहिलो चरणमा २० जना सङ्क्रमित भएकामा हालसम्म उक्त सङ्ख्याको दोब्बर सङ्क्रमित थपिइसकेका छन् ।

स्थलमार्गबाट मनाङका बिरामीलाई अस्पताल पु¥याउन सक्ने सहज अवस्था छैन । मनाङ जाने सबै सडक अहिलेसम्म कालोपत्रे भएका छैनन् । पूर्ण रुपमा कच्ची सडक छन् । कच्ची सडकबाट बिरामी वा जटिल प्रकारका कोरोना सङ्क्रमितलाई अस्पताल लैजादा बाटोमै ज्यान जान सक्ने बढी खतरा छ ।

सडक सञ्जाल सहज बनाउने उद्देश्यका साथ धेरै वर्षदेखि बजेट विनियोजन हुँदै पनि आएको छ । तर निर्माण कम्पनीले काम पूरा गर्न नसक्दा बिरामीलाई स्थलमार्गबाट अस्पताल पु¥याउन सहज नभएको हो । मनाङको सदरमुकाम चामेसम्म समेत स्थलमार्गको विकास हुन सकेको छैन भने अन्य क्षेत्रमा झन् समस्या छ । त्यसैमाथि मनाङका विभिन्न नदीमाथि बन्ने पुलका लागि वार्षिक रुपमा बजेट विनियोजन हुन्छ तर पुल निर्माणको काम पूरा हुँदैन । मनाङमा हिउँदमा हिउँ त वर्षायाममा पहिरोले पुल र सडक निर्माणको काम अगाडि बढ्न सक्ने अवस्था गाह्रो भएकोे निर्माण कम्पनीले बताउँदै आएको छ ।

जिल्ला अस्पताल मनाङमा उपचाररत बिरामीमा कोभिड पोजिटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि अस्पताल सिल गरिएको अस्पतालले जनाएको छ । बुधबारदेखि सिल गरिएको जिल्ला अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द छन् । अस्पतालबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको निमित्त प्रमुख डा गौलीले जानकारी दिइन् ।

त्यस्तै जिल्लाका चार स्थानीय तहमध्ये दुई स्थानीय तहको सेवा समेत बन्द गरिएको छ । यी दुई पालिकाले बिहीबारबाट आफ्नो सेवा रोकेका हुन् । मङ्गलबार मनाङ ङिस्याङ गाउपालिकामा एक विदेशी नागरिक सहित २५ जना कोरोना सङ्क्रमित थपिएका थिए । चामे गाउँपालिकाको कार्यपालिकामा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण पुष्टि भएसँगै पालिका अन्तर्गतको स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह रोक्ने निर्णय भएको प्रशासनले जानकारी दिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.