www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

मनाङ ।

नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा संक्रमितको संख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ ।

केही दिनअघि मात्रै जिल्लाभित्र विभिन्न देशका पर्यटक रोकिएको जानकारी पाएसँगै जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी कार्य थालेको थियो । कुन ठाउँमा कति पर्यटक छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्रसँग पर्यटकको तथ्यांक लिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।

Batas

उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्यांकमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको उनले जानकारी दिए । हालसम्म २२ मध्ये १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्य बाँकी पनि फिर्ता पठाउने काम भइरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्रको समन्वयमा ङिस्याङ गाउँपालिकाबाट पाँचजना फिस्टेल एयरबाट काठमाडौँ तथा पाँच जनालाई बलेरो जीपबाट पोखरा पठाइएको हो ।

ङिस्याङ गाउँपालिकाको गाउँमा १४, खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङ गाउँमा एकजना गरी जम्मा २२ विदेशी पर्यटक यस जिल्लामा रोकिएका थिए ।

अब जिल्लामा १२ पर्यटक बाँकी रहेका अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख गौतमले बताए । ‘यहाँबाट हिजो मात्रै जर्मनी, इजरायली, नेदरल्यान्ड, आइरिस र फ्रान्सका नागारिकलाई फिस्टेल हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ, केही पर्यटकलाई जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई पोखरा पठाएको छ, एकदुईजना आफैँ हिँडेर लमजुङतर्फ गएका पनि छन्’, उनले भने । अन्य जिल्लामा निषेधाज्ञा भए पनि यहाँ भएको छैन । जिल्लामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै हिँड्डुल जारी छ ।

वैशाखमा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक जिल्ला भित्रिएका थिए । त्यस्तै १९७ ले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका छन् । नेदरल्यान्डका नागारिक संक्रमित भेटिएपछि मात्र जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रले तथ्यांक उपलब्ध गराएसँगै यहाँ रहेका पर्यटकको खोजी गरी उनीहरूको इच्छाअनुसार जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई गन्तव्यसम्म पठाउने काम गरिरहेको प्रजिअ लामिछानेले बताए ।

उनका अनुसार केही पर्यटक यहाँ नै बस्न चाहेकाले उनीहरुलाई सुरक्षित साथ रहन आग्रह गर्दै जिल्लाबाहिर जान चाहनेलाई सवारी पासको व्यवस्था गरिएको हो । विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका चेक पोष्टमा परमिट दर्ता गरेर आउने भए पनि अहिलेको अवस्थामा कतिपय दर्ता नभएका पनि रहेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ ।

कतिपय पर्यटक विना गाइड प्रवेश गरेको संरक्षण क्षेत्रका प्रमुख गौतमले बताए । ‘हाम्रो ठाउँठाउँमा चेक पोष्ट छ, चेक पोष्टमा दर्ता भएकाको तथ्यांक हामीसँग हुन्छ तर दर्ता नभएकाको तथ्यांक नहुँदा समस्या आउने गरेको छ’, उनले भने ।

दुई भारतीय नागारिक, तीन इजरायली तथा अन्य फ्रान्स, नेदरल्यान्ड र ब्रिटिस नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ । हालसम्ममा १० पर्यटकको उद्धार भइसकेको छ भने अन्य १२ जनालाई पनि उद्धार गरी गन्तव्यसम्म पु¥याइने अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.