www.tandavnews.com
Fact ~ In search of truth

सर्लाहीमा निषेधाज्ञा उल्लङ्घन बढ्दैःसडकमै भोजभतेर

सर्लाही ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड­१९ को संक्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ ।

संक्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ । स्थानीयवासी भने निषेधाज्ञा उल्लङ्घन गर्दै बिहे, व्रतबन्ध र भोजभतेरमा सहभागी भइरहेका छन् । यस्ता सामाजिक कार्यमा मानिसको भीड नियन्त्रण भन्दा बाहिर छ । यसतर्फ सरोकारवाला निकायले समेत चिन्ता, वास्ता र चासो देखाएको छैन ।

Batas

कविलासी नगरपालिका–२ पिपरियामा हालै सडकमै बिहे भोजको आयोजना गरिएको छ । सयौंको संख्यामा उपस्थित भएर स्थानीय भोज खाने कार्यक्रममा सहभागी भएका छन् ।

सडकमै भोज गर्ने र भोज चलिरहेकै समयमा अतिआवश्यकीय सवारी साधनहरु सञ्चालनमा समेत समस्या सिर्जना हुने गरेको एक एम्बुलेन्स चालक नागेन्द्र साहले गुनासो गरे ।

गाउँका पसल र हाट बजारमा भीडभाड घटेको छैन  । ‘‘प्रशासनले सामाजिक कार्य गर्नै परे १५ जनाभन्दा बढी उपस्थित नहुन निर्देशन दिएको छ, तर यहाँ सयौंको सङ्ख्यामा जम्मा हुने गरेका छन्’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाको पालना गराउन कुनै कसर बाँकी नराखिएको दाबी गरे । ‘‘‘जनतामा चेतनाको कमी छ, तैपनि हामीले निषेधाज्ञा पालना गराउन लागिपरेका छौँ, सहरी क्षेत्रमा निषेधाज्ञा पूर्णरूपमा पालना भइरहेको छ, ग्रामीण भेगमा अलि समस्या छ,’ उनले भने। यसमा स्थानीय तह पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.