www.tandavnews.com
Fact ~ In search of truth

बागलुङः पिसिआर परीक्षणमा आलटाल, गाउँभरि संक्रमण फैलियो

बागलुङ ।

कोरोनाको संक्रमण भुसको आगो झैँ सल्किएपनि नगरपालिकाले पिसीआर गर्ने काममा अझै आलटाल गरिरहेको स्थानीयले आरोप लगाएका छन् ।

पटकपटकका दबाबपछि बागलुङको ढोरपाटन नगरपालिकामा गरिएको केही परीक्षणमा ८० प्रतिशतसम्म संक्रमित भेटिए पनि जनप्रतिनिधिले अझैपनि चासो नदेखाउँदा गाउँमा संक्रमण फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।

Batas

नगरपालिकामा तत्कालीन गाविस अध्यक्षसहित चार जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । पालिकामा भएको भिटिएम पनि प्रयोगमा आई नसकेकाले परीक्षणको दायरा बढाउन नसकिएको स्वास्थ्य शाखाका प्रमुख घनश्याम चालिसेले बताए । पालिका तहबाट वडा नं. ९ को केही स्थानमा मात्रै परीक्षण भएको हो ।

नगरपालिकाको चासो नदेखाएपछि वडा नं. ४ ले आफ्नै पहलमा परीक्षण थालेको जनाएको छ । ‘‘समयमा परीक्षण नगर्दा गम्भीर बिरामी भएपछि मात्रै अस्पताल आउनेहरुले ज्यान गुमाइरहेका छन्’, स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने,‘घर घरमा रोगको भयावह अवस्था छ, त्यो खोजी हुन सकेको छैन ।’

गत वैशाख पहिलो सातादेखिको निशेधाज्ञा पालना नहुँदा संक्रमण फैलिएको स्वास्थ्यकर्मीको टिप्पणी छ ।‘विवाह भोजले गाउँ तहसम्म संक्रमण फैलियो, अहिले शंकास्पद संक्रमितको मलामी पनि उत्तिकै भीड छ’,बडिगाड गाउँपालिकाको स्वास्थ्य प्रमुख चुडामणी कँडेलले भने, ‘‘सयौं संक्रमित थपिने खतरा बढिरहेको छ ।’

अझै पनि पालिका तहबाट परीक्षणको दायरा बढाउने कुरा नचलेको उनले टिप्पणी गरे । परीक्षण गर्ने र संक्रमितलाई अलग नगरेसम्म महिनौ निषेधाज्ञा लगाएपनि नियन्त्रण नहुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए।

जिल्लामा बिहीबारसम्म एक हजार सक्रिय संक्रमित पुगिसकेका छन् । परीक्षण गरिएकामध्ये ६० देखि ८० प्रतिशतसम्म संक्रमित भेटिएका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.