www.tandavnews.com
Fact ~ In search of truth

महोत्तरीः एउटै बस्तीमा १३ जनाको मृत्यु, बस्तीमा त्रास

महोत्तरी ।

महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन ।

चारैतिर कोभिड–१९ संक्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताए । ‘बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पु¥याएका थिए, अरु घरमै मरे’ दाहालले भने, ‘अस्पताल पु¥याइएका दुई जनाको पनि पिसिआर परीक्षण भने गरिएको थिएन ।’

Batas

महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेको दाहालले बताए । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको उनको भनाइ छ । कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पिसिआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताउछन ।

आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ । अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताउछन् । बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिए ।

‘पिसिआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं’ वडाअध्यक्ष महतोले भने, ‘सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिदा ढिलाइ भएको हो ।’ अब बस्तीस्तरमै पिसिआर परीक्षणका लागि स्वाव संकलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ ।

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रवन्ध गरिने बताए ।

जिल्लामा यसपालि गत वैशाख १४ गते कोभिड—१९ संक्रमण पुष्टिले पहिलो मृत्यु भएको थियो । त्यसयता आज (शुक्रबार) बिहान ७ बजेसम्म जम्मा ४१ जनाको संक्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा यसपालि एक हजार ५३८ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये एक हजार ३८२ जनामा सक्रिय संक्रमण रहेको कार्यालयका कोभिड—१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए । यसपालि ११५ जनाले संक्रमण जितेका छन् ।

गतवर्ष वैशाखदेखि कात्तिकसम्म १८ जनाको संक्रमणले मृत्यु भएको थियो भने दुई हजार १४१ जनामा संक्रमण पुष्टि भएको थियो । गतवर्ष सक्रिय संक्रमितको संख्या भने ९०० को हाराहारीमा रहेको कार्यालयले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.