www.tandavnews.com
Fact ~ In search of truth

सम्पादकीय : लाशहरुले भोट हाल्दैनन्

शुक्रबारको मध्यरातमा घटाइएको राजनीतिक परिदृष्यले मुलुक मध्यावधि निर्वाचनतर्फ उन्मुख भएको छ ।

काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भन्ने आहान झैं वर्ष दिनदेखि कोरोना संक्रमणबाट आहत भइरहेका जनताले अब राजनीतिक र संवैधानिक व्यवस्थालाई जोगाइदिन मतदानको लाइनमा उभिनुपर्ने भएको छ । नचाहेरै पनि भोट हाल्न लाम लाग्नुपर्ने अवस्थामा नेपाली जनतालाई पुर्याइएको छ । यस अर्थमा राजनीतिक दल र यसका नेतृत्वकर्ताहरु गैरजिम्मेवार छन्, लापर्वाह छन् ।

विश्वमै अब्बल मानिएको राजनीतिक व्यवस्था गणतन्त्र, जहाँ नागरिकलाई केन्द्रमा राखेर शासन गरिन्छ, त्यही गणतन्त्रमा आम जनमानसलाई व्यवस्थाप्रति नै वितृष्णा पाल्न बाध्य बनाउने काम भएको छ । राजनीतिक दलहरु गुटमा ओर्लिएर घृणित खेल खेल्दाको परिणाम जनताहरु दिनानुदिन लाशमा परिणत हुन बाध्य भएका छन् ।

Batas

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि दलको दाबी नपुगेको भन्दै मध्यरातमा संसद विघटन गरी देशलाई मध्यावधिमा धकेलेपछि मुलुकको राजनीति र संविधान एकसाथ गिजोलिएको छ । यतिमात्र हैन, यस निर्णयले जनताका अपेक्षाहरु गिजोलिएका छन् । केवल ‘बाँच्न’कालागि संघर्षरत नागरिकहरु सरकारद्वारा जारी लकडाउनलाई आत्मसाथ गर्दै आफुलाई नजरबन्दमा राखेपनि फेरि बाँच्नै नसकिने अवस्थामा पुग्ने भएका छन् । मध्यरातको तमाशाले राजनीतिमा विधि र नैतिकताको खिल्ली उडाएको छ । जनता महान् छन् भन्दै जनताबाट म्यान्डेट लिने नाममा जनतालाई नै पुनः थाङ्नामा सुताउने खेलको पटाक्षप भएको छ ।

निर्वाचन गराउन लाख वा करोड हैन, अर्बाै रुपैयाँ आवश्यक पर्दछ । देश महामारीको चपेटा फँसिरहेको देख्दा स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने अवस्थामा छ । नयाँ भेरियन्टकाकारण कोरोना संक्रमितलाई बचाउँन अक्सिजन, भेन्टिलेटर, आइसियूको देशैभर अभाव छ । दैनिक संक्रमित हुने र मर्नेको ग्राफ ओरालो लाग्ने छाँट छैन ।

यस्तो विषम परिस्थितिमा राष्ट्रिय सरकारको सट्टा मध्यावधिको कार्डलाई सदर गरेर सरकार र दलहरुले नागरिकको बाँच्न पाउने अधिकारमाथि निर्मम प्रहार गरेको छ । संविधानको हत्या र सत्ता कब्जाको रणनीतिले देशमा लाशहरु बढाउनेछ । अब सामाजिक सञ्जालमार्फत जनस्तरबाट ‘खोप छैन, भोट छैन’को आन्दोलन सुरु गर्न अपरिहार्य भएको छ । जसको उद्देश्य स्पष्ट छ, निर्वाचनमा लाशहरुले भोट हाल्दैनन् । भोट हाल्न जनता बाँच्नुपर्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.