www.tandavnews.com
Fact ~ In search of truth

कोरोना उपचार र रोकथाम सुनवलबाट सिक्ने कि !

सुनवल ।

कोरोना संक्रमित वृद्धि भएपछि नववलरासी (बर्दघाट सुुस्ता पश्चिम)को सुनवल नगरपालिकाले हाई डिपेन्डेन्सी युनिट (एचडियू) सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक सहित दश श्ययाको एचडियू र १९ शैय्याको अक्सिजन जडित आइसोलेशन रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामै सुविधायुक्त अस्थायी कोभिड अस्पताल शुरु भएपछि भेन्टिलेटरमा राख्नुपर्ने बाहेकका संक्रमितको उपचारमा सहज भएको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

Batas

सुनवल–१ सोमनाथस्थित बाल सिकाइ केन्द्रको दुईतले भवनमा अस्पताल सञ्चालन गरिएको छ । पहिलो तलामा अक्सिजनसहितको आइसोलेशन र दोस्रो तलामा एचडियू सेवा छ । भवनको नजिकै रहेको सुनवल जेसिजको भवनमा २४औँ घण्टा एकजनाको दरले स्वास्थ्यकर्मी रहने गरी सचिवालय बनाइएको छ ।

अहिले १४ संक्रमितको अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ । एचडियू सञ्चालनका लागि सर्वोत्तम सिमेन्ट उद्योग प्रालिले करीब ७० लाख बराबरको मेडिकल उपकरणसहितको सामग्री उपलब्ध गराएको हो ।

अस्पतालमा अहिले दुई चिकित्सक र १२ स्वास्थ्यकर्मी रहेको उक्त अस्पतालका डा. चन्द्रशेखर यादवले बताए । एचडियू सेवाका लागि थप तीन चिकित्सक थप्न लागिएको नगरप्रमुख थापाले जानकारी दिए ।

कोभिड संकट व्यवस्थापनमा सुनवल जिल्लामै नमूना र अब्बल रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय बताउछन् । ‘सुनवलमा व्यवस्थित तरिकाले कोरोना नियन्त्रणको प्रयास गरेको पाइएको छ, राम्रो व्यवस्थापन र स्तरीय सेवा दिएको छ, जनप्रतिनिधि, कर्मचारी तथा सुनवलवासी सबैको सक्रियता र सहयोगले यो सम्भव देखिएको हो’, उनले भने ।

नगरपालिकाले होम आइसोलेशनमा बसेका संक्रमितको पनि घरमै पुगेर उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको छ । होम आइसोलेशनमा बसेकालाई अक्सिजन आवश्यक पर्दा तत्कालै उपलब्ध गराउने गरिएको छ भने चिकित्सकको परामर्श र १३ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए ।

पिसिआर जाँच गर्न चाहनेका लागि नगरपालिकाले हरेक दिन बुटवलसम्म लैजाने ल्याउने गरी यातायातको सुविधा व्यवस्था गरेको छ ।
नगरपालिकाले कोभिडको कारणले मृत्यु हुनेको घरमा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको छ ।
नगरपालिकासँग रहेका तीनवटा एम्बुलेन्समध्ये एउटा कोभिड बिरामी बोक्न, एउटा अन्य बिरामी बोक्न र एउटा सुत्केरी बोक्न प्रयोग गरिएको छ ।

कोभिड सङ्कट व्यवस्थापन र संक्रमणबाट नागरिकको ज्यान जोगाउन नगरपालिकाले थप २५ लाख बजेट रकमान्तर गरेको छ । अस्पतालका डा. यादवले अधिकांश बिरामीहरु जटिल अवस्था भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या भइरहेको बताउछन् । यसअघि बर्दघाट नगरपालिकाले पनि एचडियूसहितको आइसोलेशन सेन्टर सञ्चालनमा आएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका सात स्थानीय तह र जिल्ला अस्पतालमा गरी १०३ श्ययाको अक्सिजनसहितको आइसोलेशन शैय्या रहेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.