www.tandavnews.com
Fact ~ In search of truth

युगकवि श्रेष्ठको सम्झना गरिँदै

ओखलढुंगा ।

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती । युगकवि श्रेष्ठको यस वर्ष पनि कोरोना कहरकाबीच सम्झनामा गरिँदैछ ।

विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो ।

Batas

सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले तयार गरेको उक्त भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् । युगकविको जन्मस्थलसम्मको खोजमूलक यात्रालाई प्रस्तुत गरिएको भिडियोमा समीक्षा पोखरेल, महेश खड्का एवं डिसीको अभिनय छ ।

कोरोना कहरका कारण युगकविको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उनका छोरा रविचरण श्रेष्ठले जानकारी दिए । युगकविको परिवारले काठमाडौँको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको छ ।

विगत वर्षमा विविध साहित्यिक कार्यक्रम गरेर जन्मभूमिमा सिद्धिचरणको जन्मजयन्ती बनाउने गरिए पनि यस वर्ष कुनै औपचारिक सभासमारोह राखिएका छैनन् । सिद्धिचरण संग्रहालय समिति र स्थानीय साहित्यिक व्यक्तिले आआफ्नै किसिमले युगकविलाई सम्झिएको समितिका ध्रुवकुमार राजभण्डारीले बताए ।

युगकवि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनी नेपाल भाषामा कविरत्नका रुपमा पनि चिनिन्थे । उनले आफ्नो जीवनको साढे छ दशक साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरणलगायत विधामा सफलतापूर्वक कलम चलाएका थिए।

उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन् । उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायत कृति छन् ।
युगकविको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.