www.tandavnews.com
Fact ~ In search of truth

यास चक्रवातः भारत र बंगलादेशमा ठूलो क्षति, ११ लाख बढी मानिसको उद्धार

भारत ।

पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् ।‘यास’ नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् ।

प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुआति प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।

Batas

भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ ।

बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका अग्लाअग्ला छालहरुले स्थानीयबासीका घर, पसल र खेतीपाती पुरै जलमग्न बनाएको छ ।

दक्षिणस्थित पटुवाखाली जिल्लाको रङ्गबाली गाउँका २० भन्दा बढी गाउँहरु पुरै डुबानमा परेको एक जना वरिष्ट प्रशासक मस्फीकर रहमानले जानकारी दिए । उनले नदीका दुई वटा तटबन्ध भत्किएर गाउँ पुरै डुबेको बताउँदै कम्तीमा १५ हजार व्यक्तिलाई आपतकालीन केन्द्रहरुमा राखिएको जानकारी गराए ।

भारतमा पनि टेलिभिजनहरुले पश्चिम बंगालको डिघा समेतका तटीय क्षेत्रका सडकहरुमा घुँडाघुँडा पानी आएको दृश्य देखाएका छन् । भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्धहरु फुटेका छन् ।

पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले संवाददाताहरुसँग कुरा गर्दै तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी अस्थायी माटाले बनाएका घर क्षतिग्रस्त भएको जानकारी दिए ।

मङ्गलबार यता मात्र उडिसाका चन्दबाली र पारादिप क्षेत्रमा १७ सेन्टीमिटरभन्दा बढी वर्षा भएको थियो । यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छालहरु आउन सक्ने प्रक्षेपण गरेको छ ।

कोलकाता र भुवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ । माछा मार्ने डुङ्गाहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।
कोरोनाभाइरस महामारी फैलिइरहेकै अवस्थामा आएको यस समुद्री आँधीले कोभिड–१९ को नियन्त्रणमा अर्को चुनौती थप्नेछ । गत साता भारतकै पश्चिमी तटीय क्षेत्रमा आएको ताउते नामको समुद्री आँधीका कारण १४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले आश्रयस्थलमा रहेका नागरिकलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न आह्वान गरेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.