www.tandavnews.com
Fact ~ In search of truth

नुभिव काण्डमा नयाँ मोड : फेवातालमा हामफालेको फुटेज अदालतमा पेश !

अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज ।

ललितपुर महानगरपालिका – १५ खुमलटारकी भगवती उप्रेतीले १८ वर्षीय छोरा नुभिवको वैशाख ४ गते पोखरामा हत्या गरेर फेवातालमा फालेको भन्दै न्याय माग्दै आएकी छिन् ।

आफ्नो छोरालाई कुटपिट गरेको भिडियो र अन्य प्रमाणको आधारमा हत्या भएको दाबी गरेपनि ‘नुभिव आफै तालमा हामफालेको’ प्रमाण प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको छ । प्रहरीको विशेष स्रोतले ताण्डव न्यूजलाई बताए अनुसार ‘नुभिवमाथि कुटपिट भएको पनि सत्य हो तर अपहरण गरी मारेर तालमा फालेको प्रमाणित हुँदैन ।’

Batas

स्रोत भन्छ, ‘जसरी कुटपिट भएको फुटेज देखियो त्यसैगरी नुभिव आफै तालमा हामफालेको फुटेजपनि प्रहरीले अदालतमा पेश गरेको छ । तर यहाँ कुटपिट भएको मात्रै भिडियो आयो । त्यही कुटपिटको आधारमा हत्या भयो भन्न मिल्दैन ।’

‘वास्तवमा अहिलेसम्म बाहिर आएको जस्तो छैन घटना, केही सत्य कुरा बाहिर आएसँगैै बनावटी कुरा पनि त्यत्तिकै आयो,’ स्रोतले भन्यो, ‘नुभिवलाई कुटपिट गर्ने तीन जनासँग उनीहरुकोे कुनै चिनजान नै थिएन, न त कुनै पुरानो दुस्मनी नै ।’ स्रोतका अनुसार कुटपिट गर्ने केटाहरु सामान्य घरपरिवारका हुन् । उनीहरुले कुटपिट गरेको स्वीकारे, बाहिर धेरै कुरा बनावटी आयो ।
यस घटनाबारे ताण्डव न्यूजले प्राप्त गरेको स्रोत र सूचनाका आधारमा यसरी विश्लेषण गरेको छ ।

– ‘कुटिएपछि ताल छेउमा एक्लै गए, तर फर्किएनन्’

बैशाख ४ गते नुभिवले तीनजना केटाहरुसँग झगडा भएको भिडियो बाहिर आयो । अनाहकमा कसैलाई पनि कुटपिट गर्न पाइँदैन । त्यसदिन तीन जनाले नुभिवलाई कुटेको फुटेज छ ।

त्यसपछि प्रहरी आएको र नुभिवसँग कुराकानी गरेको पनि भिडियोमा देखिन्छ । त्यतिमात्र होइन त्यो बेलासम्म नुभिवले हातमा मोबाइल बोकेको देखिएको छ । त्यसपछि नुभिव बाटो लागे । कुटपिट भएको केही मिनेटमै नुभिव एक्लै तालको छेउमा पुगि ‘हाम फालेको’ फुटेज अदालतमा पेश गरिएको छ ।

यसबीच प्रहरीले सुक्ष्म अनुसन्धान गर्दै सम्पूर्ण प्रमाण पुगेपछि अदालतमा पेश गरेको छ । ‘सिसि फुटेजमा नुभिव एक्लै ताल छेउमा पुगेर हामफालेको देखिन्छ,’ स्रोतले भन्यो, ‘कुटपिटमा जुन हुलिया भएको नुभिव छन्, त्यही हुलिया भएको व्यक्ति नै तालमा हामफालेको फुटेजमा देखिन्छ ।’

– आमालाई म्यासेज

बैशाख ४ गते बिहानै सवा तीनबजे नुभिवले आमा भगवतीलाई केही म्यासेज गरे । त्यसमा लेखिएको थियो– ‘आइ रियल्ली वान्ट टु डाइइ….. बाई…’ नुभिवले घटना भएको दिनमा अन्य २ म्यासेज पनि पठाएका थिए । एउटामा मोबाईल बैंकिङको कोड र अन्य एपको पासवर्ड ।

अर्को म्यासेमा लेखिएको थियो– ‘आइ एम रियल्ली सरी, आइ कान्ट टक टु यु, म पोखरामा छु ।’ यि सबै म्यासेज जुन दिन नुभिवको शव फेला प¥यो त्यो दिन भगवतीले नै बैदाम प्रहरीलाई देखाएकी थिइन् । उक्त समय हेर्दा ति सबै म्यासेज नुभिवले कुटिनु अघिको हो । केटाहरुसँग झगडाकै बेला फुटेजमा नुभिवले मोबाइल बोकेर हिँडेको देखिन्छ । जस अनुसार यो प्रष्ट हुन्छ कि त्यो म्यासेज नुभिवले नै पठाएका हुन् ।

– नुभिवको शव भेटिएपछि कसरी गयो कल ?

बैशाख ४ गते विहान ६ः४५ मा नुभिवको शव फेवातालमा भेटिएको प्रहरीले जनायो । त्यसपछि आमा भगवतीलाई जानकारी भयो । उनी पोखरा आईन्, शव सनाखत गरिन् । तर पछि हत्या हो भनेर दाबी गरिन् । हत्या भनेर दाबी गर्ने अर्को कारण थियो ‘फोन कल ।’

नुभिवको शव फेला परेपछि कसरी उनको साथीलाई गयो कल ? प्रहरीले यस विषयमा अनुसन्धान गर्दा ‘वेबकल’ भएको पत्ता लगायो । वेबकल भनेको इन्टरनेटबाट गरिने फोन कल हो । जस्तैः कुनै व्यक्तिले मोबाइल नम्बरबाट ‘वाट्स एप’ अकाउन्ट खोल्छ । त्यसपछि उनीहरुले अन्य व्यक्तिलाई कल गर्न कम्प्युटर वा अन्य कुनै डिभाईस प्रयोग गर्न सक्छन् । पहिला वाट्स एपको अकाउण्ट खोल्दा नम्बर चाहिन्छ त्यसपछि कम्प्युटरमा ‘लगइन’ गरेर राख्न मिल्छ । त्यसरी कम्प्युटर वा अन्य डिभाईसमा ‘लगइन’ गरेर राखेमा मोबाइल अफ होस् या काम नगरेको होस् कल गर्न मिल्छ । प्रहरीले सोही कुरा पत्ता लगाएर नुभिवको आमालाई जानकारी गराएका थिए ।

यो वेबकल कुन डिभाइस अर्थात कम्प्युटर वा अन्य कुनै साधन वा माध्यमबाट चलाएको भन्ने जानकारी सम्बन्धित व्यक्तिलाई वाट््स एपले दिनसक्छ । तर प्रहरीले मागेको खण्डमा नदिन पनि सक्ने एक आईटी इन्जिनियरले बताए । वाट्स एपबाट कल आएको हुनाले उनीहरुको नियमानुसार ‘प्राइभेट कल’ भनेर गोप्य राखिन्छ र सकेसम्म अन्य जानकारी दिइन्न ।

– किन घरबाट एक्कासी पोखरा आए नुभिव ?

पोखरामा शव फेला परेपछि मात्र नुभिव पोखरा पुगेको घरमा थाहा भयो । हुन त पोखरा आएपछि उनले आमालाई मेसेजमार्फत जानकारी गराएका थिए । तर उक्त मेसेजमा आमाको नजर पुगेन । ब्याचलर लेभलका विद्यार्थीे नुभिव किन घरमा नभनी एक्कासी पोखरा आए ? यस विषयमा उनका साथीहरु भन्छन, उनी ‘मेन्टल्ली डिस्टर्ब’ थिए । उनलाई कलेज जान÷आउन स्वयं बुबाले स्कर्टिङ् गर्थे ।
जानकारीमा आए अनुसार नुभिवलाई बुलेट बाईक किन्ने इच्छा थियो, तर परिवारले मानेका थिएनन् । यससँगै उनमा अन्य तनावसमेत भएको कास्की प्रहरीका एक अधिकृतको ठम्याई छ । ‘कलेज हिडेको १८ वर्षीय केटा घरमा थाहै नदिई एक्लै पोखरा आउनु भनेको के हो त ?,’ अधिकृतले प्रश्न गरे, ‘विचलित नभई कोही एक्लै हिड्छ ?’

– को हुन् कुटपिटमा संलग्नहरु ?

हत्या अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेपछि जिल्ला अदालतले दुई जनालाई पुर्पक्षको लागि कारागार र एक जनालाई बाल न्यायिक हिरासतमा पठाएको छ ।

ट्रेजर लाउन्ज बार अगाडी भनाभन भएपछि स्ट्रिट नम्बर १३ मा ३ जना केटाहरुले नुभिवलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । जुन कुरा भिडियो फुटेजमा पनि प्रष्ट छ ।

कुटपिटमा संलग्न केटाहरु सामान्य घरका हुन् । घटनामा संलग्नमध्ये खोटाङको ऐसेलुखर्क गाउँपालिका २ का १८ वर्ष भन्दा कम उमेरका बालक(नाम खुलाउन नमिल्ने), स्याङजाको फेदीखोला गाउँपालिका २ का १९ वर्षीय बिगेन गुरुङ र अर्जुनचौपारी गाउँपालिका ६ का १९ वर्षीय बासुदेव गुरुङ हुन् । उनीहरुले कुटपिट गरेको स्वीकार गरेका छन्, कुटपिट पछि आफ्नो घर गएको उनीहरुले जनाएका छन् ।

– शरीरको निलडाममा आमाको प्रश्न ?

छोराको मृत्युको खबर सुनेर पोखरा आएकी आमा भगवतीले पहिलो दिन ‘आत्महत्या नै हो’ भनेर शव सनाखत पनि गरिन् । तर अनुहार लगायत अन्य ठाउँमा निलडाम देखेपछि ‘अपहरणपश्चात् कुटपिट गरी हत्या गरेको हुनसक्ने’ भन्दै दाबी गरिन् । हुन त त्यो दिन नुभिव कुटपिटमै परेको कुरा सिसिटिभी फुटेजमा प्रष्ट छ । साथै तीनजनाले कबुल पनि गरेका छन् ।

एक प्रहरी अधिकृतका अनुसार कुटपिटबाट पनि निलडाम भएको हुनसक्छ । त्यस्तै, पानीमा डुबेको मान्छेलाई निकाल्ने बित्तिकै शरीरमा निलडाम नदेखिएनि पोष्टमार्टम गर्दा केमिकलको प्रयोगले त्यस्तो देखिन सक्ने अस्पताल स्रोत बताउँछ ।

– नशामा नुभिव, साथमा ६ ग्राम गाँजा

त्यस रात नुभिव नशामा भएको प्रहरीको दाबी छ । यस विषयमा प्रहरीसँग यथेष्ठ प्रमाण रहेको अदालतमा पेश गरेको कागजातमा उल्लेख छ । नुभिव कुटिएपछि प्रहरीले भेट्दासमेत उनी नशामै रहेको प्रहरीले बताएको छ ।
नुभिवको शव फेला परेपछि मुचुल्काको दौरान प्रहरीले करिब ६ ग्राम गाँजा बरामद गरेको उल्लेख छ ।

– अनाहकमा मुछिए ट्रेजर र किङ्स

त्यही रात नुभिव ट्रेजर लाउन्ज बार र किङ्स लाउन्ज बार पनि गएका थिए । तर बाहिर भनिए जस्तो ट्रेजर अघि कुटपिट भएको थिएन ।

बाहिर हल्ला चले जस्तै ट्रेजर र किङ्सले फुटेज र प्रमाण दिन मानेन भन्ने कुरा गलत रहेको संचालक र स्वयं प्रहरी बताउँछन् । प्रहरीका अनुसार उनीहरुले आवश्यक फुटेज र प्रमाण दिएका छन् ।

नुभिव त्यस रात पहिला ट्रेजर छिरेर मदिरा खाएर निस्के । त्यसपछि मध्यरातमा किङ्स गएर नाचेको फुटेजमा देखिन्छ । किङ्सबाट निस्केर फेरि नुभिव टे«जर लाउन्ज तल पुगेको र ३ जना युवासँग भनाभन भएको प्रहरीको भनाई छ ।

नुभिवले फेरी ट्रेजर जानुको कारण समान छोडेको हुन सक्ने प्रहरीको अनुमान छ । नुभिवले नशाको तालमा आफ्नो झोला र हेल्मेट किङ्समै छाडेका थिए । जुन पछि खुल्न आएको थियो ।

– आमाको अडानः हत्या नै हो

ताण्डव न्यूजसँग आमा भगवतीले छोराको हत्या नै भएको दाबी गरिन् । ‘मेरो छोरालाई मारेकै हुन्,’ उनले भनिन्, ‘हत्यारालाई कारबाही हुनै पर्छ ।’ अदालतमा मुद्धा परेको हुनाले यस विषयमा आफु धेरै बोल्न नमिल्ने आमा भगवतीको भनाई थियो । ‘अदालतले पनि हत्या भएको पुष्टी गर्छ,’ उनको जिकिर छ, ‘फुटेजमा ताल छेउमा छोरा हिँडेको देखिन्छ, त्यस्तो त कति पटक हिँडेको होला । त्यसकै आधारमा मेरो छोराले आत्महत्या गरेको भन्न मिल्दैन ।’

– के कुटपिट आत्महत्याको कारण हो ?

घटनाको प्रकृति, मुचुल्का र सिसिटिभी फुटेज हेर्दा नुभिवलाई मारेर फालेको भन्दा पनि आत्महत्या नै हुनसक्ने एक बरिष्ठ अधिवक्ताको तर्क छ ।

यस घटनामा नुभिवलाई मारेर फालेको होइन बरु कुटपिट आत्महत्याको कारक बन्नसक्ने उनको ठम्याई छ । ‘तीनजना केटाले कुटपिट गरेपछि आत्महत्याको बाटो रोज्न कारकको भूमिका खेलेको देखिन सक्छ,’ उनले भने, ‘नुभिवको परिवारबारे बुझ््दा र एक्कासी एक्लै पोखरा आउनुले पनि नुभिव मानसिक तनावमा रहेको देखिन्छ ।’

मानसिक तनावमा पोखरा आउनु र यहाँ कुटिनुले उनमा आत्महत्याको सोंच आएको हुनसक्ने उनले उल्लेख गरे । यद्यपि, जिल्ला अदालतमा हत्या अभियोगमा मुद्दा चलेको उनले जनाए । ‘उनीहरुको हत्यामा हैन बरु आत्महत्या दुरुत्साहनमा भएको भए मुद्दा स्टाब्लिस्ट(ठहर) हुन्थ्यो’ उनले भने ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.