www.tandavnews.com
Fact ~ In search of truth

बागलुङःहेलिकप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै

बागलुङ ।

एक सातादेखि बागलुङमा हेलिकप्टर गएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिकजसो हेलिकप्टर आएर कोरोना र अन्य शंकास्पद बिरामी पोखरा तथा काठमाडौँ पुर्याउने गरेको थियो ।

हेलिकप्टरका लागि स्थानीयवासीले चार लाखसम्म खर्च पनि गरे । बागलुङ अस्पतालमा उपचारपछि निको हुन्छ भन्ने विश्वास नभएपछि उनीहरुले शहरी क्षेत्रमा लगेका हुन् । हेलिकप्टरमा पठाइएका बिरामी अधिकांश फर्कन सकेका छैनन् । कतिपयको उतै निधन भयो । कतिपय अझै निको भएका छैनन् ।

Batas

कोरोना संक्रमणले देश आक्रान्त पारेका बेला राम्रो उपचार खोज्दै हिँड्दा कतिपयले बाटैमा ज्यान गुमाएका छन् । बरु नजिकका अस्पतालमा बसेर उपचार गरेका फर्कन सफल छन् ।‘हाइफ्लो अक्सिजन र भेन्टिलेटरका सेवा खोज्दै सहर पसे पनि राम्रो उपचार अहिले देशैभरि छैन’, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘दक्ष चिकित्सक आफैँ खटिएर सेवा दिएमा अन्यत्र गइरहनु पर्दैन ।’

अस्पतालमा अहिले पनि कन्सल्ट्यान्ट डाक्टर नै कोरोना उपचारमा नियमित खटिएका छन् । आइसोलेशनमा दक्ष नर्स र स्वास्थ्यकर्मी पनि निरन्तर लागेकाले निको हुनेक्रम पनि यहाँ बढी छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड स्थानीय स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार संक्रमितले आत्मबल बलियो बनाउने, नियमित खाना खाने हो भने धेरै निको हुन्छन् । परिवार र स्वास्थ्यकर्मीको साथ भएका छिट्टै निको भएर फर्केको उनले बताए ।

‘काठमाडौँमा भर्ना नपाएका बागलुङ आएर निको भएका छन्, शहरी क्षेत्र मात्र भनेर हुँदैन’, घिमिरेले भने, ‘सामान्य अवस्थामा शहरी क्षेत्रका अस्पताल राम्रो होलान, महामारीमा शहरी क्षेत्रमा चासो कम हुन्छ ।’ ठूला अस्पतालमा एक दुई जनाको मृत्यु हुनुलाई सामान्य मानिने तर जिल्ला तहमा मृत्यु नहोस् भनेर काम भएको उनले बताए ।

बडीगाड गाउँपालिका र बागलुङ बजार नजिकका बिरामी धेरै हेलिकप्टरबाट पोखरा र काठमाडौँ गएका छन् । तीमध्ये धेरैले ज्यान गुमाइ सकेका छन् । पोखरा काठमाडौँ पु¥याइएपछि मृत्यु भएकाको परिवारले शव व्यवस्थापनसमेत गर्न पाएका छैनन् ।

सदरमुकामकै बागलुङ नगरपालिका– ४ का दुई जनाले पनि हेलिकप्टरमा गएर फर्कन सकेनन् । जिल्लामा कति जनाले हेलिकप्टरमा उपचार खोज्दै शहर पसे भन्ने तथ्यांक भने कसैले राखेका छैनन् ।

अहिले कोरोना संक्रमितलाई होम आइसोलेशनमा बस्न पाउने मापदण्ड बनाइएको छ । घरमा बसेकै कारण धेरैलाई छिट्टै निकोसमेत भएको छ । घरमा बस्नेले जटिल समस्या आउञ्जेल अस्पताल नजाने प्रवृत्तिले मृत्युका घटना बढेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले बताए । ‘घरमा बस्न भनिएको हो, तर समस्या आएकाले छिट्टै अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ’, उनले भने, ‘समयमा उपचारमा नआएका कारण कतिपयको ज्यान गएको छ ।’

आर्थिकरुपमा सम्पन्न भएकाले पनि ढिला उपचारमा निस्केर ज्यान गुमाएका छन् । हेलिकप्टरमा लाखौँ खर्चन सक्नेले समयमा अस्पताल पुग्ने चाहना नराख्दा मृत्युवरण गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पोखरेलको भनाइ छ । ‘अस्पताल आइसकेपछि उपचार नभएको हैन, भुइँमै राखेर भए पनि अक्सिजनको व्यवस्थापन गरेका छौँ’, उनले भने, ‘समस्या आउन लाग्दा वास्ता नगरेर अन्तिम परेपछि सोझै पोखरा हानिन खोज्दा धेरैको मृत्यु भएको छ ।’

काठमाडौँमा अक्सिजनसहितको श्यया नपाएर रातारात बागलुङ आइपुगेकी एक महिला भने निको भएर घर फर्किएकी छिन । ढोरपाटन नगरपालिका– ३ की ३५ वर्षकी महिला धौलागिरि अस्पताल आइपुगेको साताभित्रै निको भएर घर फर्किएकि हुन।

उनको काखमा ११ महीनाका बालक छन् । बालक भएकाले कुरुवा बस्ने श्यया पाउन नसकेपछि काठमाडौँबाट ५० हजार खर्चेर ती महिला बागलुङ आएकी थिइन। यहाँ आएपछि उनको परिवारका सदस्यले स्याहार गरे । उनको आत्मबल पनि बलियो भएपछि छिट्टै कोरोना जितिन् ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.