www.tandavnews.com
Fact ~ In search of truth

‘कोभिडसँगै ननकोभिडलाई सघाऔँ’

झापा ।

कोभिड–१९ को महामारीका बेला अन्य जटिल रोगीले उपचार नपाउने अवस्था सिर्जना नहोस् भनेर झापा जिल्लाका तीन पालिकामा विशेषज्ञ चिकित्सा सुविधासहित टेलिमेडिसिन सेवा शुरुआत भएको छ ।

‘केएचडिसी नेपाल’ नामक गैरसरकारी संस्थाको आयोजना र स्थानीय पालिकाको सहकार्यमा मेचीनगर, बुद्धशान्ति र भद्रपुरमा ‘कोभिडसँगै ननकोभिडलाई सघाऔँ’ नारासहित सेवा शुरु गरिएको हो ।

Batas

मिर्गौला, मुटु, मधुमेह, उच्च रक्तचाप, डिप्रेसनलगायतका दीर्घरोग लागेकालाई टेलिमेडिसन पद्धतिमार्फत घर बसेरै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्रा.ड.सञ्जीवकुमार शर्माबाट स्वास्थ्य परामर्श प्रदान गरिरहेको अभियानका प्रयोगशाला संयोजक दिलीप सुवेदीले जानकारी दिए ।अभियान मेचीनगर नगरपालिकाको वडा नंं २, ६, १० र १४, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६ र ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० मा सञ्चालन भइरहेको छ ।

‘अहिले कोभिडका बिरामीको उपचारमा सम्पूर्णको ध्यान गइरहेको छ’, कोभिड संक्रमितलाई स्वास्थ्य सामग्री निःशुल्क पु¥याउने कार्य गरिरहेको मेची अभियानका संयोजक विजय डालमियाले भने,‘यस्तो विषम अवस्थामा ननकोभिड दीर्घरोगीलाई उपचारमा सकस भएको बुझेर शुरु गरिएको टेलिमेडिसिन सेवा अत्यन्त उपयोगी सावित भएको छ ।’

अभियानमा आबद्ध स्वास्थ्यकर्मीले दीर्घरोगीको घरदैलोमा पुगी स्वास्थ्य अवस्था र औषधि सेवनका बारेमा ताजा जानकारी लिने गरेका छन् । त्यसपछि वडामा सञ्चालित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले इन्टरनेट प्रविधिमार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत विशेषज्ञ प्रा.डा .शर्मासँग भर्चुअल सम्पर्क गरेर थप स्वास्थ्य परीक्षण र औषधिको सिफारिस गराउँछन् ।

भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरसँग कुराकानीसमेत गराइने भएको हुँदा बिरामीले आफ्नो स्वास्थ्य समस्या चिकित्सकसँग सुनाउन पाउँछन् । अभियानलाई गाउँकेन्द्रित बनाइएको छ । शहरको अस्पतालबाट टाढा रहेका ग्रामीण बस्तीलाई यो सेवाले लक्षित गरेको छ ।

अभियानका स्वास्थ्यकर्मी शनिबार एकैदिन ३० जना दीर्घरोगीको घरमा पुगेको र आवश्यक परामर्श प्रदान गरिएको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताए । उनले गाउँमा केएचडिसी (किड्नी, उच्च रक्तचाप, मधुमेह र कार्डियो भास्कुलर)का बिरामी उपचारका लागि अस्प्ताल जान नसकेर धेरै समस्यामा फसेको पाइएको जनाउँदै अभियानले त्यस्ता बिरामीलाई मद्दत गरिरहेको जानकारी दिए ।

अभियान लागू भएका पालिकाको वडास्थित स्वास्थ्य चौकीमा केएचडिसी नेपालले इन्टरनेट, कम्प्युटर र अन्य स्वास्थ्य सामग्रीले निःशुल्क प्रदान गरेर टेलिमेडिसिन सुविधाका लागि पूर्वाधार तयार पारेको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.