www.tandavnews.com
Fact ~ In search of truth

‘टेक्निकल इरर’का कारण मृत्यु हुनु दुखद्, अब उपचारमा कुनै समस्या हुदैँनः मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् ।

पोखरा पर्यटन परिषद्ले आज आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उनले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताए।

Batas

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि संघ सरकारलाई सिफारिश गरेको जानकारी दिए ।

उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य द्रुतगतिमा भइरहेको बताए । स्रोतसाधन र जनशक्तिकोसमेत अभाव हुन नदिन सरोकारवालालाई निर्देशन दिइरहेको जनाउँदै उनले बेलाबेलामा हुने ‘टेक्निकल इरर’का कारण बिरामीको मृत्यु हुने दुःखद् भएको र यसलाई गम्भीररुपमा लिएको बताए ।

‘पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पताल भएको छ अब संक्रमितको उपचारका लागि कुनै पनि समस्या हुँदैन’, उनले भने । परिषद्ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य उपकरणले कोभिड– १९ का बिरामीलाई उपचारमा सहज हुने उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोभिड– १९ को महामारीका समयमा मानवीय जीवनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे।

मुख्यमन्त्रीले उक्त सामग्री संक्रामक तथा सरुवा रोग अस्पतालका चिकित्सक विकास गौचन, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डुकबहादुर क्षेत्री र मातृशिशु मितेरी अस्पतालका चिकित्सक पुष्कर गौचनलाई हस्तान्तरण गरेका थिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रबिन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरिएको जानकारी दिए ।

उनका अनुसार करीब रु १५ लाख मूल्य बराबरको अत्यावश्यक कोभिड अक्सिजन कन्सन्ट्रेटेड मेशिन छ थानसहित अक्सिजन मेशिन (१० लिटर) चार थान, पिपिइ सेट ५०० थान, पञ्जा एक हजार थान, मास्क १० हजार थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नमस्ते कम्यूनिटी फाउण्डेशन अध्यक्ष भिष्म पौडेलले दुई थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेका थिए ।

सो सामग्री पोखराका पर्यटन व्यवसायी संघसंस्था, व्यवसायीलगायत रेवान पोखराका पूर्व महासचिव श्रीराम गिरीको समन्वयमा नेपलिज एशोसिएसन जर्जिया अध्यक्ष भवन्द्रे बस्नेत र अमेरिकाको जर्जिया राज्यका लागि जनसम्पर्क दूत दीपक पहारीसमेतले सहयोग गरेको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.