www.tandavnews.com
Fact ~ In search of truth

दमौली अस्पतालमा डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव

दमौली ।

सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।

नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिए । “पहिला पहिला नियमित रक्तदान हुँदा समस्या हुन्थेन, अहिले रगत अभाव भएपछि समस्या भएको छ”, उनले भने, “मिर्गौला पीडित आफैँले रगत खोज्नुपर्ने अवस्था आएको छ ।”

Batas

कतिपय मिर्गौला पीडितले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेका छन् । “दमौलीमै भएका आफन्त वा साथीभाई आएर पनि रक्तदान गरिदिनुहुन्छ, कोही नपाएको खण्डमा भने पोखरा पुगेरै रगत ल्याउनुपर्ने बाध्यता छ”, उनले भने ।

व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँले रगत अभाव हुँदा आफूहरुलाई समस्या परेको बताए । “निषेधाज्ञा अगाडि त समस्या थिएन, तर अहिले निषेधाज्ञा भएपछि समस्या प¥यो”, उनले भने ।

केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ ।

आकस्मिक रक्तदान

मिर्गौला उपचार केन्द्रमा डायलासिस गराउँदै आएका एक मिर्गाैला पीडितलाई रासस दमौली प्रतिनिधिको समन्वयमा रगत उपलब्ध गराइएको छ । रगत अभाव भएको जानकारी गराएपछि रासस प्रतिनिधिको समन्वयमा उहाँलाई रगत उपलब्ध गराइएको हो ।

व्यास–३ निवासी योगिता श्रेष्ठले मिर्गौला पीडितका लागि रगत उपलब्ध गराएकी छन् । पुण्य कामका लागि रगत दिन पाउँदा आफूलाई पनि खुशी लागेको श्रेष्ठले बताइन् । “रक्तदान जीवनदान हो, सबैले रगत चाहिएकालाई सहयोग गरौँ”, उनले भनिन् ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.