www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ: संक्रमण नघट्दा निषेधाज्ञामा कडाइ

बागलुङ ।

बागलुङ जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्न थालेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ९०० नघटेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न निर्देशन दिएपछि अहिले बागलुङ जिल्ला सदरमुकाममा प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रहरीले अत्यावश्यक कामबाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, एक सय जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ । प्रहरीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट निषेधाज्ञाको उल्लंघन गर्ने काम तीव्र भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने र पटक–पटक निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सयको जरिवाना गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इकवाल हवारीले जानकारी दिए ।

Batas

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा प्रहरीले चेकजाँचमा थप कडाइ गरेको हवारीले बताए । बागलुङमा सक्रिय संक्रमितको संख्या नघट्नुमा निषेधाज्ञाको पालना नभएको भन्ने गुनासो आएपछि प्रहरी सक्रिय भएर लागेको छ ।

नक्कली पास बोक्ने, पासका आधारमा यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, एक व्यक्तिका नाममा भएको पास अर्को व्यक्तिलाई दिनेलगायत निषेधाज्ञा उल्लङ्घनका घटनालाई ट्राफिक प्रहरीले निगरानी तथा सवारी नियम उल्लंघन र जाँचका साथै कारबाहीसमेत गरिरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले पटक–पटक नियम उल्लंघन गर्नेबाट हालसम्म १७६ जनालाई कारबाही गरेको छ । सोबाट १७ हजार ६०० राजश्व संकलन गरिएको छ । यस्तै नियम उल्लंघन गर्ने २३९ सवारी साधनबाट रु एक लाख ६० हजार ५०० राजश्व संकलन गरिएको सूचना अधिकारी हवारीले बताए ।

विनामास्क हिँड्नेलाई एक सय, विनाकाम हिँड्नेलाई दुई सय, अत्यावश्यक कामबाहेक मोटरसाइकल चलाउनेलाई दुई हजार, अन्य सवारीलाई रु पाँच हजार जरिवाना काट्ने नियमअनुसार एक लाख ७८ हजार राजश्व संकलन गरिएको छ । बागलुङमा कोरोना सङ्क्रमणबाट हालसम्म ४३ जनाको मृत्यु भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.