www.tandavnews.com
Fact ~ In search of truth

बेनी–जोमसोम सडक कालोपत्र शुरु

म्याग्दी ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरु भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्र शुरु गरिएको हो ।

पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको छ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६.५ किलोमिटर सडक कालोपत्र शुरु गरिएको छ ।

Batas

प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करीब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनीयर आषिश मानन्धरले बताए । ‘बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ’, उनले भने, ‘११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।’

सोह« दशमलव पाँच किलोमिटर दूरीको दोस्रोअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्रबाहेकका स्थानमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

पहिलो प्याकेजको बेगखोला–जलथले खण्डमा भने ढिलाइ भएको छ । पहिलो प्याकेजको राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदार ओमकारेश्वर कन्सट्रक्शनका प्रतिनिधि अमृत दाहालले प्राइम कोड हालेर कालोपत्रको काम शुरु गरेको बताए।

‘मौसमले साथ दियो भने गलेश्वरदेखि बेगखोलासम्मको छ किलोमिटर सडक जेठ महिनाभित्र कालोपत्र सक्ने तयारी गरेका छौँ’, उनले भने, ‘सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र गर्न लागिएको हो ।’ कोरोना महामारीको जोखिम र निषेधाज्ञाका बाबजुद स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदूर, उपकरण र निर्माण सामग्री जुटाएर आयोजनालाई निरन्तरता दिइएको दाहालले बताए ।

विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करीब छ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ । सात प्याकेजको जोमसोम–कोरला खण्डको चार प्याकेजको काम निर्माण सकिएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताए ।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी– जोमसोम सडक कच्ची र जीर्ण थियो । कच्ची र साँघुरो सडकमा हिउँदमा धुलाम्मे तथा वर्षामा हिलाम्मे हुने समस्या थियो । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो । बेनी–घाँसा खण्डका दुई प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो ।

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.