www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा डेढ महिनामा ३३ संक्रमितको मृत्यु

बागलुङ ।

कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना संक्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ ।

बागलुङको पछिल्लो तथ्यांकअनुसार डेढ महिनाको अवधिमा ३३ संक्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो ।

Batas

पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीब्र गतिमा संक्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । ‘पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले नै भनिसकेको छ । धौलागिरिका चार जिल्लामध्ये पनि बागलुङमा मृत्युदर बढेको छ’डा पोखरेलले भने, ‘कोरोना संक्रमण बढ्दै गएपनि जटिल अवस्थाका बिरामी केही मात्रामा केही दिन यता घटेको देखिएको छ, अझै सचेतना अपनाउन जरुरी छ ।’

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लामा संक्रमणको दर अझै नियन्त्रणमा नआएको बताए । जिल्लामा निषेधाज्ञा, सचेतना, परीक्षण र उपचार प्रभावकारी रुपमा गर्दा समेत संक्रमणको दर नघट्दा निषेधाज्ञा लम्ब्याउनु पर्ने अवस्था रहेको प्रजिअ कार्कीको भनाई थियो । जिल्लामा स्थानीय तह र नागरिक आफैँ जागरुक नभएसम्म कोरोना संक्रमण नियन्त्रण नहुने कार्कीको भनाइ छ ।

अहिले जिल्लामा एक हजार ७० जना सक्रिय संक्रमित पुगेको छ । यो संख्या जिल्लामा संक्रिय संक्रमित अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । जिल्लामा पछिल्लो समय निषेधाज्ञासमेत उल्लंघन भइरहेकाले कारण कोरोना संक्रमण नघटेको नागरिकको गुनासो छ । बागलुङमा कोरोना संक्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.