www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमितले कहाँ उपचार गराउने ? निजीमा लाखौं, सरकारीमा निशूल्क

जीवन सुवेदी/दिपक के श्रेष्ठ
पाेखरा, ताण्डव न्यूज

कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा मृतकको संख्या पनि बढिरहेको छ । अघिल्लोको तुलनामा अहिलेको भाइरस केही कडा देखिएकोमात्र हैन संक्रमितको उपचारार्थ अक्सिजन, आइसीयू र एचडीयूको प्रयोगसमेत अनिवार्य भएको छ ।

कोरोना संक्रमितहरुले उपचार गराउन निजी अस्पतालमा जाँदा अनिवार्य डिपोजिटदेखि बेड र आइसीयूको शूल्क लाखमा तिर्नुपरेको छ । यसको ठिक विपरित पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा पुग्नेहरुले भने सम्पूर्ण सेवा निशूल्क पाउँदै आएका छन् ।

Batas

पोखराका निजी अस्पतालमा कोरोना संक्रमितको उपचारार्थ के–कति खर्च लाग्छ ? भन्ने विषयमा ताण्डवले सम्बन्धित अस्पताल, नर्स, बिरामी र बिरामीका आफन्तसँग गरेको कुराकानीमा केही आँकडा प्रस्तुत गर्ने जमर्काे गरिएको छ ।

पोखरामा २५ बेड माथिका अस्पतालमा कोरोनाको उपचार हुन्छ । संक्रमितको उपचारमा जुटेका पोखराका प्रमुख निजी अस्पतालमध्ये मणिपाल शिक्षण, चरक मेमोरियल, गण्डकी मेडिकल, फिस्टेल, ओम र मेडिप्लस हस्पिटल प्रमुख हुन् । उल्लेखित अस्पतालमा भर्ना हुने बिरामीले डिपोजिटस्वरुप ५० हजार रुपैयाँमाथि तिर्नुपर्ने अस्पताल प्रशासन बताउँछन् । प्रशासनले ५० हजार भनेपनि बिरामीका आफन्तले १ लाख रुपैयाँ बढी तिरेको जानकारी दिए ।

पोखराको निजी अस्पतालहरुमा संक्रमितहरुको उपचारार्थ लिइने शूल्क यस्तो छः

– डिपोजिट रकमः ५० हजारदेखि १ लाख रुपैयाँसम्म
– जनरल र्याण्डम ब्लड सुगर (र्याण्डम ग्लुकोज टेस्ट) : २ हजार २०० रुपैयाँ
– इन्ट्युबेशन (अक्सिजनसहितको भेन्टिलेटर पम्प) : साताको अनुमानित १० हजार रुपैयाँ
– सिभिपी (सेन्ट्रल भेनस प्रेसर): साताको अनुमानित ५ हजार रुपैयाँ
– सिरिञ्ज पम्पः ८ सय रुपैयाँ
– आइसियु कोभिड बेड चार्जः ३० हजार रुपैयाँ दैनिक
– रेम्डिसिभिर (औषधि)को एक डोजः अनुमानित ५ हजार रुपैयाँ
– अन्य औषधि बिरामीको प्रकृतिअनुसार
(कोरोना संक्रमित बिरामीले उपचार खर्च साताको ३ लाख रुपैयाँको हाराहारीमा तिर्नुपरेको छ ।)

पोखरामा कोभिडको उपचार गर्न लेखनाथस्थित कोरोना अस्पताल र पश्मिाञ्चल क्षेत्रीय अस्पताल रहेका छन् । निजी अस्पतालले बिरामी र आफन्तसँग चर्काे शूल्क असुलिरहेकोबेला पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (कोरोना अस्पताल)का फोकलपर्सन डा. शरदचन्द्र बरालले संक्रमितको उपचार खर्च निशूल्क भएको बताएका छन् ।

फोकलपर्सन बराल भन्छन्ः

डा. शरदचन्द्र बराल
फोकलपर्सन, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (कोरोना अस्पताल)

सरकारले कोरोना संक्रमितको निशूल्क उपचार गर्ने घोषणा गरेपछि अस्पतालमा बिरामीलाई कुनैपनि शूल्क लिइएको छैन । यहाँ सबै निशूल्क छ । बिरामीलाई बेडसँगै आवश्यक पर्ने अक्सिजन, इन्टेन्सिभ केयर युनिट (आइसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर निशूल्क छ ।

हामीले संक्रमितलाई आवश्यक पर्ने औषधिसँगै एन्टिबायोटिकको पनि पैसा लिँदैनौं । रगत जाँच निशूल्क छ । संक्रमितलाई प्रयोग हुने रेम्डिसिभिर नामक औषधिसमेत सकेसम्म निशूल्क उपलब्ध गराएका छौं । यद्यपि, सबै बिरामीलाई रेम्डिसिभिर आवश्यक नपर्न पनि सक्छ ।

हामीले सकेसम्म बेडको अभावमा संक्रमितलाई फर्काएका छैनौ । यहाँ बेड नपाएर बाहिर गएका बिरामीलाई बेड खाली हुनासाथ बोलाएर राखेका छौं । कुनैपनि बिरामीले यहाँ भर्ना हुन १ दिनभन्दा बढी कुर्नुपरेको छैन ।

अस्पतालमा हाल संक्रमितको उपचारार्थ जनरल २०, आइसीयू ५५ र एचडीयू बेड ५५ छन् । अक्सिजनको अभाव छैन । स्टकसमेत राखेका छौं । कुनै भवितव्य नभए अक्सिजनको अभाव हुने पनि छैन । हाम्रो पुरा टिम अनवरत खटिरहेको छ । हाम्रो ध्येय नै सबैलाई बचाउने हो ।

यहाँ सम्पूर्ण सेवा निशूल्कमात्र हैन डेडिकेडेट चिकित्सक र नर्सले सेवा दिइरहे पनि संक्रमितहरुले हामीलाई विश्वास नगरी निजीतिर कुद्दा हामी दुखित छौं । पैसा खर्च गर्न सक्ने निजीमा जानुभएको होला तर रिनै खोजेर पनि उता गएको खबर सुन्नमा आउँदा दुख लाग्छ ।

म भन्न चाहन्छु, सरकारी अस्पतालले निशूल्क उपचार गरिरहेको छ, हामीलाई विश्वास गर्नुहोस्, हामी तपाइहरुप्रति जिम्मेवार छौं ।

निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च महंगो पर्नुको कारणबारे जानकारी लिँदा प्रायः सञ्चालकहरुले सरकारबाट कुनैपनि सहयोग नहुँदा शूल्क बढेको बताएका छन् । २५ बेडमाथि सञ्चालनमा आएका अस्पतालले अनिवार्यरुपमा सेवा प्रवाह गर्नुपर्ने नियम आएपनि सरकारी सहयोग नहुँदा महंगो भएको हो । निजी अस्पतालमा उपचाररत बिरामीले नर्स र परिचारिकाले प्रयोग गर्ने पञ्जा, मास्क र कतिपयले पिपिइकोसेत पैसा तिर्नुपर्ने गुनासो गरेका छन् ।

त्यस्तै, निजी अस्पतालमा जनशक्तिको कमीले पनि सेवा प्रवाहमा कठिनाई भएको छ । कोरोना उपचार हुने निजी अस्पतालले ओपिडी सेवासमेत दिइरहेकाले जनशक्ति बाँड्नु परेको गुनासो एकातिर छ भने अर्काेतिर कोरोना वार्डमा कार्यरत चिकित्सक, नर्सलगायतले थप भत्ता नपाउँदा बिरामीले यथोचित सेवा पाउन सकेका छैनन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.