www.tandavnews.com
Fact ~ In search of truth

पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म

तारानाथ आचार्य
बलेवा/रासस

‘गर्न आउ है अर्म र पर्म
सबै विदेश कोही छैन गाउँघरमा
बर्खा लाग्यो…झ्याउँकिरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो…’

यो वर्षको बर्खा पनि घरदैलोमै आयो । गाउँ छेवैको जङ्गलमा झ्याउँकिरी आवाजले साँझ परेको सङ्केत गर्छ । रातभरि भ्याकुताको ट्वार ट्वार तथा झ्याउँकीरी र भ्याकुताले समयको लय त समाते तर त्यही समयको लयमा चल्नुपर्ने किसानलाई भने गाउँ छोडेका युवाका कारण समस्यामा छ ।

Batas

विष्णु खत्रीले केही वर्षअघि बजारमा ल्याएको यो गीतले नेपाली समाजको चित्रण गर्छ । कोरोना महामारीको पहिलो लहर चल्ने समयमा भरिभराउ भएका बागलुङका गाउँहरुले दोस्रो लहरको समयमा भने उत्साह भर्न पाएनन् । पहिलो लहर चल्दा विदेशमा भएका युवा र देशकै ठूला शहर पसेकाहरु गाउँ फर्किएका थिए । गाउँमा छुट्टै खालको उत्साह थियो । गत वर्षको बर्षायाम शुरु हुनुपूर्व चलेको पहिलो लहरले गाउँघरमा बर्खे खेती गर्न सघायो । कारण गाउँमा युवाको जमात थियो ।

गीतमा भनिए जस्तै अर्मपर्म चल्ने गाउँ अहिले खाली छन् । सबै युवा विदेश भएकाले गाउँमा खेताला, खेताली पाउनै मुस्किल छ । अर्मपर्म त एकादेशको कथा जस्तै हुन थाल्यो । “धान रोप्न खेतालाको जोहो एक महिना अघिबाटै गर्नुपर्छ, नत्र समयमा रोपाइँ गर्नै सकिँदैन”, जैमिनी नगरपालिका–१० राङ्खानीका डिलप्रसाद पौडेल भन्छन् , “पर्मको कुरा छाडौँ, ज्यालामा काम गर्ने पनि पाउनै मुस्किल छ, युवा विदेश छन्, कसले गर्ने दुःख ?”

गाउँमा बसेका केही युवाका पनि आफ्नै व्यावसायिक फार्महरु छन् । कसैले कुखुरा पालेका छन्, कसैले गाईभैँसी, बाख्रा र तरकारी तथा नगदेबाली । व्यावसायिक बनेका युवाले सिजनको खेतीका लागि समय दिन नसक्ने किसानहरु बताउँछन् । “धान रोप्ने बेला भयो, खेतला पाइँदैनन्, पाएका पनि महँगा छन्”, बागलुङ नगरपालिका–१४ नारायणस्थानका किसान केशव सुवेदी भन्छन् , “सिजनको खेती गर्न कठिन भइसक्यो ।”

पछिल्लो समय आएको प्रविधिले किसानलाई सघाएको छ तर बर्खे खेतीको समयमा भने प्रविधिको गतिसँगै चल्ने जनशक्ति पनि चाहिन्छ । एक हल गोरुले दिनभर लगाएर रोप्ने खेत अहिले मिनीपावर ट्रिलर (यान्त्रिक हलो)ले केही घण्टामै हिलाउँछ । सोहीअनुसार आली लगाउने, छेउकुना खन्ने र सम्याउने जनशक्ति चाहिने सुवेदी बताउछन् । एक हल गोरुका पछि लाग्नेभन्दा दोब्बर खेताला मेसिनका पछि चाहिने उनको अनुभव छ ।

काम गर्ने जनशक्तिकै अभावले उर्वर जमीन बाँझिन थालेको किसानको गुनासो छ । बागलुङमा जेठदेखि नै रोपाइँ शुरु भइसकेको छ । गलकोट र जैमिनी नगरपालिकाका खोला छेउमा सिँचाइको अभाव नभएका खेतमा धमाधम रोपाइँ भइरहेको छ । रोपाइँ शुरु भए पनि जनशक्तिको भने चरम अभाव रहेको आदानप्रदान कृषि सहकारीका सचिव मित्र थापाले बताए ।

यहाँ दिनभरि काम गर्दा पाउने ज्यालाभन्दा विदेशमा हुने दैनिक कमाइ धेरै हुने भएकाले युवाहरु गाउँ बस्न नमान्ने थापाको अनुभव छ । सिजनमा मात्रै हुने खेतीपाती र खाली समयमा रोजगारी नहुँदा पनि युवाहरु गाउँमा अड्याउन नसकेको उनले सुनाए । ठूला फाँट र एकैपटक धान रोप्ने समयमा सबैभन्दा बढी किसानलाई समस्या हुने गरेको छ ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.