www.tandavnews.com
Fact ~ In search of truth

पोखरेल सरकारलाई विज्ञ खोज्ने चुनौती

पोखरा
ताण्डव न्यूज ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अरु चार मन्त्री नियुक्त गरे पनि मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् । असार ४ गते हतार हतार विश्वासको मत लिएपछि सम्भवत पोखरेलले मन्त्रालयको भागबन्डा मिलाउलान् ।

चार दलीय गठबन्धनको एक घटक माओवादीले ४ मन्त्रालय मागेको छ । जनता समाजवादी पार्टीका २ सांसद छन्, तर ३ मन्त्रालय आफ्नो पार्टीलाई चाहिने उसको माग छ । २ जानै सांसद मन्त्री हुने र अर्का एकजना नेतालाई ६ महिने मन्त्री दिनुपर्ने जसपाको माग हो । स्वतन्त्र सांसद दीपक मनाङेलाई पोखरेलले आफूसँग सपथ खुवाएका थिए । जनमोर्चा भने सरकारमा नजाने भनेको हुँदा त्यसको फिक्कर लिनुपर्ने भएको छैन ।

Batas

एकातिर सरकारमै मन्त्रालयको भागबन्डा मिलाउनुपर्ने चुनौती छ भने अरु राजनीतिक नियुक्ति पनि पोखरेलका लागि चुनौतीपूर्ण नै देखिन्छ । किन पनि भने यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरैतिर अब्बल व्यक्तिहरुको नियुक्त गरेका थिए ।

गुरुङले गरेका राजनीतिक नियुक्ति पाएकामध्ये अधिकांश विद्यावारिधि गरेका व्यक्तिहरु थिए । राजनीतिक सल्लाहकार डा. भीष्म अधिकारी थिए । मुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरेले अस्ट्रेलियाबाट कानुनमा विद्यावारिधि गरेका हुन् । योजना आयोगका ३ जना नै विद्यावारिधि धारी थिए । उपाध्यक्ष डा गिरिधारी शर्मा, सदस्यहरु डा भीमा ढुंगाना र डा विष्णु बराल थिए ।

यसरी हेर्दा पृथ्वीसुब्बाले योग्यता हाँसिल गरेका विज्ञहरु आफ्ना वरिपरि राखेको देखिन्छ । एमाले सांसद राजीव पहारी भन्छन्, ‘उहाँले कसरी हाम्रो मान्छेमात्रै भनेर खोज्नुभएन, राम्रो मान्छेहरु खोजेर ल्याउनुभयो । अब पोखरेलले के गर्नुहुन्छ ?’

कांग्रेसको सरकार आइसकेपछि मुख्यमन्त्रीको कानुनी सल्लाहकार अर्थात् मुख्यन्यायाधिवक्ता बन्ने पोखराका कानुन व्यवसायीहरु छन् । तर के पोखरामा उनले विद्यावारिधि गरेका वा कानुनवेत्ताको हैसियत बनाएका कानुन व्यवसायी भेट्लान् ? ‘पोखराकै राख्नुपर्छ भन्ने कहाँ छ र ? राम्रो काम गर्ने हो र रामो्र मान्छे ल्याउने हो भने जहाँबाट ल्याए पनि हुन्छ,’ एक राजनीतिक विश्लेषकले भने ।

मुख्यमन्त्री पोखरेलका सहोदर भाइ डा जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनैलाई प्रदेश नीति तथा योजना आयोगमा ल्याउन सके मुख्यमन्त्री पोखरेलले नातावाद गरेको भन्ने आरोप लाग्ला भन्ने डर छ । तर जगदीशलाई ल्याउन सके नातावाद भन्न नहुने बरु घरमै भएको विज्ञलाई ल्याएर प्रदेशका खातिर सदुपयोग गर्न लागिएको अर्थमा हेरिनुपर्ने तर्कहरु पनि राजनीतिक वृत्तमा हुने गरेको छ ।

विश्वासको मत भर्खर लिएको हुँदा पोखरेलका आगामी दिन कस्ता हुन्छन् र कस्ताको वरिपरि बस्नेछन् भन्ने छिट्टै देखिने नै छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.