www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा अझै बनेन मन्त्रालयको ‘मेनु’, अर्थको स्वाद नपाए जसपा बाहिरिने

दिपक के श्रेष्ठ
पाेखरा/ताण्डव न्यूज

गत जेठको २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि कृष्णचन्द्र नेपाली पोखरेलले यही ४ गते विश्वासको मत लिइसकेका छन् । सोही दिन मुख्यमन्त्री पोखरेलले ४ जनालाई मन्त्रीमा शपथ ग्रहण गराए ।मुख्यमन्त्री नियुक्त भएको आज १० दिनसम्म पनि पोखरेलले मन्त्रीलाई जिम्मेवारी र मन्त्रालयलाई पुर्णता दिन सकेका छैनन् ।

यसैबीच, विश्वासको मत लिने दिन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच गरिएको सहमतिले मन्त्रालयको मेनु तयार पार्न गठबन्धनलाई झनै सकस पारेको छ । ठूला र साना दलले अर्थ, भौतिकलगायत मन्त्रालयको स्वाद लिन चाहेपछि गण्डकी प्रदेश अझै सरकारविहीनको अवस्थामा रहेको छ ।

Batas

आज दिनभर मन्त्रालयको भागबण्डा मिलाउन अहिले नेपाली कांग्रेस र माओवाद केन्द्रबीच छलफल सुरु भएको छ । मुख्यमन्त्री स्रोतका अनुसार यतिबेला सबैदल यही विषयमा तयारी र छलफलमा जुटेका छन् । मन्त्रालय विभाजनको विषय आज टुंगिन्छ ? भन्ने प्रश्नमा स्रोतले सबै दलबीच छलफल भइरहेको तर ठ्याक्कै भन्न नसक्ने प्रतिक्रिया दिए । ‘मुख्यमन्त्रीज्यू र अन्य दलका प्रतिनिधि भित्र हुनुहुन्छ, मैले जवाफ दिन मिलेन’ स्रोतले भने ।

दलहरुबीच छलफल भइरहेको बताइएपनि जसपाका नेता एवं मन्त्री हरिशरण आचार्यले भने आफु लेखनाथतिर रहेको बताए । ‘छलफल गर्ने विषय उहाँहरुको हो, हामी सहमतिबाट दायाँबायाँ हुँदैनौ’ उनले प्रष्ट्याए । आचार्यकाअनुसार मुख्य समस्या कांग्रेस र माओवादीको हो । जसपालाई सानो दलकारुपमा व्याख्या गरेर सहमतिविरुद्ध जाने कांग्रेसको सोंच रहेको बताउँदै मन्त्री आचार्यले भने ‘एकजना स्वतन्त्र दलको भूमिका महत्वपुर्ण रहेको अवस्थामा जसपा त झन् राष्ट्रिय पार्टी हो, सहमतिविरुद्ध जाने हो भने हामीलाई मन्त्रालय चाहिन्न ।’

जसपा मन्त्री हुन गठबन्धनमा गएको नभई संसद बचाउन सहभागी भएको आचार्यको भनाई छ । ‘हाम्रो मिसन स्पष्ट छ, हाम्रो मर्यादामाथि प्रहार गरेको सहने कुरा हुँदैन ।’ अर्थ मन्त्रालय नपाए पनि सरकारको विरुद्ध भने नजाने उनले उल्लेख गरे ।

जसपा बरु बाहिर रहेर सरकारलाई समर्थन गर्ने तर सहमतिअनुरुप नभए अन्य मन्त्रालयमा नजाने उनले स्पष्ट पारे । ‘सरकार बाहिर रहेर पनि काम गर्न सक्छौं, हाम्रो समर्थन रहन्छ तर पार्टीको इज्जत र प्रतिष्ठालाई अवमुल्यन गरेर मन्त्री हुँदैनौ’ मन्त्री आचार्यले भने ।

विश्वासको मत पाउने अघिल्लो दिन मुख्यमन्त्री पोखरेलले जसपासँग एक्लै सम्झौता गरेका छन् । त्यो सम्झौताको दोश्रो बुँदामा जसपालाई अर्थ मन्त्रालयसहित २ वटा मन्त्रालय दिने कुरा उल्लेख छ । यो सहमतिका बारेमा गठबन्धनको दोश्रो ठुलो दल माओवादी केन्द्र समेत बेखबर छ ।

यही सम्झौता भएपछि जसपाले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिएको छ ।

अहिले यही सम्झौता अनुसार चल्न मुख्यमन्त्री पोखरेललाई अप्ठेरो परेको छ । अर्थमन्त्रालय नपाए सरकारमा नजाने अडानमा जसपाका आचार्य छन् भने अर्थ मन्त्रालय र भौतिक योजना मन्त्रालय साना दललाई दिन नसकिने अडानमा कांग्रेस र माओवादी केन्द्र छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.