www.tandavnews.com
Fact ~ In search of truth

११ दिनपछि प्रतिपक्ष बोल्योः जनताप्रति गैरजिम्मेवार, झण्डा हल्लाउने स्वार्थमा अपवित्र खेल

दिपक के श्रेष्ठ
पाेखरा/ताण्डव न्यूज

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि कृष्णचन्द्र नेपाली पोखरेलले यही ४ गते विश्वासको मत लिइसकेका छन् । सोही दिन मुख्यमन्त्री पोखरेलले ४ जनालाई मन्त्रीमा शपथ ग्रहण गराए । मुख्यमन्त्री नियुक्त भएको आज ११ दिनसम्म पनि पोखरेलले मन्त्रीलाई जिम्मेवारी र मन्त्रालयलाई पुर्णता दिन नसकेपछि प्रतिपक्ष दल नेकपा एमालेले असन्तुष्टी व्यक्त गरेको छ ।

नेकपा एमाले गण्डकी प्रदेशका इन्चार्ज एवं प्रमुख प्रतिपक्ष दलका नेता पृथ्वीसुब्बा गुरुङले महामारी र विपद्मा पनि प्रदेश सरकार अभिभावक बन्न नसकेको टिप्पणी गरेका छन् । ‘काम गर्न हैन सत्ताभोग गर्न अपवित्र गठबन्धन बनाइएको रहेछ’ पुर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले भने ‘महामारी र विपद्मा पनि जनताप्रति बेपर्वाह र गैरजिम्मेवार देखिए ।’ उनले अलगअलग स्वार्थमा रुमल्लिएको खिचडी सरकार मालदार मन्त्रालयमा छिनाझम्टी गर्न व्यस्त रहेको आरोप लगाए ।

Batas

आफ्नो कार्यकालमा उत्तरदायी भएर काम गरिरहेकाबेला अप्राकृतिक गठबन्धनको आडमा सरकार गिराउन गरेको रणनीतिले विपक्षीलाई फाइदै भएपनि प्रदेशवासीले त्यसको मूल्य चुकाउनु परेको धारणा राखे । प्रदेशवासीको हितमा काम गर्न खोजेको भए ११ दिनसम्म मन्त्रालय र मन्त्रीको टुंगो लागिसक्ने थियो भन्दै गुरुङले सम्झौताको राजनीतिलाई ‘लाजनीति’को संज्ञा दिए । ‘हामीलाई संघीयता विरोधी भन्नेहरुले आफ्नो सिद्धान्त र विचारलाई तिलाञ्जली दिए’ गुरुङले भने ।  काम र जिम्मेवारीको तुलनामा प्रदेशमध्ये गण्डकी अब्बल रहेको स्मरण गराउँदै गुरुङले मन्त्री र मन्त्रालयको काम तुरुन्त टुंग्याएर जनताप्रति उत्तरदायी हुन सरकारलाई आग्रह गरे ।

प्रदेश सरकारको वर्तमान शैलीमाथि नेकपा एमाले सांसद कृष्ण थापाले ‘कुशासनको नमुना’ भनि कटाक्ष गरे । जनताप्रति हदैसम्मको बेवास्ता गरेको भन्दै सांसद थापाले अहिलेको गठबन्धनलाई अराजनीतिक र अलोकतान्त्रिक भन्दै आलोचना गरेका छन् ।

‘कमजोर जगमा उभिएको सरकारले के नै गर्न सक्छ र ?’ थापाले भने ‘यो गठबन्धन पातको साँघुमा हिडिरहेको छ, भविष्य कस्तो होला आफै मापन गर्नुहोस् ।’ सत्ताको लुछाचुँडीमा बजेटको बेहाल भएको टिप्पणी गर्दै थापाले महामारीको बेला प्रदेशमा मन्त्री र मन्त्रालय नै बन्न नसक्नु दुखद भएको धारणा राखे ।

आलोचनाकैक्रममा अर्का सांसद राजीव पहारीले भने, ‘अवसरवादीहरुको गठबन्धन हो भन्ने प्रष्ट भएको छ ।’

गण्डकी प्रदेशमा अहिले ‘कहिँ नभएको जात्रा हाडीगाउँमा’ जस्तै प्रहसन चलिरहेको भन्दै पहारीले कोभिड, महामारी, बाढीपहिरोले जनजीवन अस्तव्यस्त भइरहेकोबेला सरकार गाडी र झण्डा पाउन माथापच्ची गरिरहेको आरोप लगाए । ‘गठबन्धनकारीहरु फिटिक्कै गम्भीर देखिएनन्’ पहारी भन्छन् ‘५–७ मन्त्रालयबाट पनि हामीले काम गरेका हौं, अवसरवादीहरु ११ मन्त्रालयको सम्झौता गरेर सत्तामा पुगेका छन् ।’

केन्द्रसँग जोडेर प्रदेश भत्काएको आरोप लगाउँदै पहारीले राजश्वको आकार घटेकोबेला झन् खर्च बढाउन जम्बो मन्त्रिमण्डल गठनमा सरकार लागेको भन्दै आक्रोश पोखे । ‘अनावश्यक खर्च किन बढाउने?’ उनले भने सानो र छरितो मन्त्रालय बनाएर सरकारले तत्काल काम थालोस् ।’ एमालेलाई सत्ता छाड्नुको पीडा भन्दै आलोचना गर्ने गठबन्धनले अहिले आफ्नो असली अनुहार देखाएको उनको भनाई छ ।

सत्तालिप्साले पार्टी र नेतालाई जनताबाट टाढा पु¥याउने भन्दै पहारीले भने ‘पहिले जनताको मन जित्नोस्, भोलीको दिनमा चुनाव जित्नोस्, दुई तिहाइकै सरकार बनाउनुहोस्, शुभकामना । तर गैरजिम्मेवार नहुनुहोस् ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.