www.tandavnews.com
Fact ~ In search of truth

कर्मकाण्डी नहोस् ‘काँग्रेस महाधिवेशन’

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका चौधौं महाधिवेशनको कार्यतालिका पछिल्लोपटक सार्वजनीक भएपछि फेरी एकपटक नेपाली काँग्रेसको महाधिवेशनबारे चर्चा सुरु भएको छ । तथापि महाधिवेशन तोकिएकै समयमा हुने या नहुनेमा अझै पनि शंका गर्ने प्रसस्त आधारहरु भने नभएका होईनन् । कोभिड १९ को महामारी चलिरहेको बर्तमान परिवेशमा यसैलाइ देखाएर फेरी पनि महाधिवेशन सार्ने चलखेल हुने वा त्यस्तै वाध्यात्मक परिस्थिती आई पर्ने हो अझै एकिन साथ भन्न सकिने अबस्था भने छैन । तर संबैधानिक बाध्यताका कारण तोके बमोजिमनै नेपाली काँग्रेसको महाधिवेशन होला भन्ने अपेक्षा गरौं ।

नेपाली राजनितिको पुराना मध्येको एक र अहिले क्रियाशिल रहेका राजनितिक दल मध्ये सबैभन्दा पुरानो राजनितिक दल नेपाली काँग्रेसको महाधिवेशनबारे यतीबेला काँग्रेस भित्र मात्र होईन नेपाल भित्रैका अन्य राजनितिक दल र अन्तराष्ट्रिय स्तरमा समेत चासोको बिषय बनेको छ । यो महाधिवेशनले नेतृत्व मात्र परिवर्तन गर्ने छैन , नितिका बिषयमा समेत गम्भिर छलफल गर्नेछ भन्ने आम बुझाई छ । तर हतारोमा गर्न लागिएको यो महाधिवेशनमा निति र बिचार माथी घनिभुत छलफल होला भन्ने चाहिँ अझै पत्याउन सक्ने अवस्था छैन । काँग्रेस महाधिवेशन कर्मकाण्डी रुपमा मात्रै सकिने हो की भन्ने आम चिन्ताको बिषय पनि छ । यदि त्यसो भयो भने यसले काँग्रेसलाइ मात्र होईन मुलुकलाई समेत ठुलो घाटा हुनेछ । यसले काँग्रेस प्रति भरोसा गर्ने नेपाली जनतालाई समेत धोका हुनेछ ।

नेपाली काँग्रेसको आगामी महाधिवेशन नेता चयन गर्ने उत्सवका रुपमा मात्र आयोजना हुन हुँदैन , लोकतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएको काँग्रेसको १४ औं महाधिवेशनले कस्तो निति तय गर्ला , यो आम चासोको बिषय हुनु सान्र्दभिक पनि हो । यो महाधिवेशनमा काँग्रेसले लिने निर्णयले पक्कैपनि नेपाली राजनिति प्रभावित हुनेछ । नेपाली काँग्रेसलाइ नेपाली जनताले पटक पटक विश्वास गरेका छन् । देश गम्भिर संकटको अबस्थामा रहेको यस बेलामा काँग्रेसले देशको नेतृत्व लिने गरि निति तय गर्न आवश्यक छ ।

Batas

हालसम्म भएका ७ वटा आमनिर्वाचन मध्ये २०१५ सालको पहिलो आमनिर्वाचनमा दुई तिहाई, २०४८ सालमा बहुमत, २०५६ मा बहुमत र २०७० सालमा सबैभन्दा ठूलो दल भएको पार्टी २०७४ सालको संसदीय र स्थानीय निर्वाचनमा धेरै सिट अन्तर सहित दोस्रो भएपछि पनि फेरी नेपाली जनताले एकपटक काँग्रेसको साथ खोजेका छन् । देशले एकपटक काँग्रेसको नेतृत्व खोजेको छ । यस्तो बेलामा सम्पन्न हुन गईरहेको नेपाली काँग्रेसको महाधिवेशन नेता प्रधान भन्दा निति प्रधान हुन आबश्यक छ । हिजोका दिनमा लिएका कतिपय निर्णयका कारण पछिल्लो निर्वाचनमा काँग्रेसलाई जनताले मन पराएनन् । १४ औं महाधिवेशनमा यसको समिक्षा हुन जरुरी छ र सोहि बमोजिम निति तय गर्न आवश्यक छ । उहि लाहुरे पाराले हतार हतार महाधिवेशन सकेर नितिमा बहस हुन सकेन भने लडखडाएको काँग्रेस उठ्न सक्दैन , यसमा नेतृत्वले ध्यान दिन आवश्यक छ । अहिले काँग्रेस उठ्ने भनेकै सहि निति , जनचाहाना बमोजिमको निति तय गरेर हो । यसको लागि महाधिवेशनमा घनिभुत छलफल हुनै पर्दछ ।

राष्ट्रीयता , लोकतन्त्र र समाजवाद काँग्रेसको सिद्धान्त हो । आफ्नो सिद्धान्तबाट बेला बेलामा काँग्रेस च्युत हुने गर्दछ भन्ने आरोप नलाग्ने पनि हैन । त्यसकारण पनि आउने महाधिवेशन मार्फत काँग्रेसले धेरै प्रश्नको समाधान खोज्नु पर्ने वाध्यता छ । नेता चयन गर्नु महाधिवेशनको एउटा पाटो हो तर नितिमा गहन छलफल गरेर नेपाली जनताको प्रिय पार्टी बन्नु अर्को महत्वपुर्ण कार्य हो । नेपाली काँग्रेसका पछिल्ला केहि महाधिवेशनहरु पनि नेता प्रधान मात्र भए निति प्रधान हुन सकेन भनेर काँग्रेसीहरु नै गुनासो गर्छन् । यस्तो बेलामा महाधिवेशन मार्फत् काँग्रेसले सहि निति तय गर्नु पर्दछ ।

कोभिड महामारीले थिलथिलो भएको देशको मुहार फेर्नका लागि काँग्रेसले तय गर्ने निति कस्तो होला ? यसबारेमा महाधिवेशन मार्फत् काँग्रेसले कस्तो संबोधन गर्ला यो अहिले आम चासोको बिषय हो । देशको अर्थतन्त्र तहस नहस भएको यो बेलामा काँग्रेसले कस्तो आर्थिक निति तय गर्ला ? यस्ता आमचासोका बिषयमा महाधिवेशन मार्फत्नै काँग्रेसले संबोधन गरेर जानु पर्दछ । हुन त अहिले काँग्रेस सत्तामा छैन , तर पनि सत्तारुढ दलप्रतिको चरम बितृष्णका कारण अहिले काँग्रेसले अभिभावकत्व ग्रहण गर्नुपरेको छ । यस्तो अबस्थामा काँग्रेसले लिने हरेक नितिमा आम नेपाली नागरिकको चासो हुन्छ । गरीवीको रेखामुनी रहेका जनताहरुका दैनिक गुजाराका प्रश्नहरु पनि छन् , यसलाई पनि काँग्रेसले यसै महाधिवेशनमार्फत सम्बोधन गर्न सक्नु पर्दछ । करीव ६० प्रतिशत जनताको जीवन निर्वाहको आधारको रुपमा रहेको कृषि पेशामा आजीवन संघर्ष गर्दा पनि बेलामा बीउ मल नपाउने, सिचाइ सुविधा नपाउने, उत्पादित सामाग्रीको मूल्य नपाएर कहिल्यै सुधार हुन नसकेको कृषकहरुको आर्थिकस्तर सुधार्ने नीति निर्धारण काँग्रेस महाधिवेशनले गर्न सक्नु पर्दछ । आर्थिक उदारीकरणको नितिलाई समर्थन गरेको नेपाली कांग्रेसले नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिईरहेको सन्दर्भमा उपभोक्ताको अधिकार कसरी संरक्षण गर्ने हो भन्ने तर्फ पनि ध्यान दिनु पर्दछ ।

अहिले देशको राजनिति एउटा गम्भिर मोडमा छ , यस्तो बेलामा नेपाली काँग्रेसले आफ्नो साख र गरिमालाई जोगाउँदै आफ्नो गौरवपुर्ण इतिहासलाई साक्षी राखेर केहि महत्वपुर्ण राजनैतिक निर्णयहरु लिन आवश्यक छ , आफुलाई अभिभावक पार्टी हौं भन्ने तर महाधिवेशन जस्तो महत्वपुर्ण समयमा राजनितिक कार्यदिशा र एजेण्डाहरु माथी छलफल नै नगरि महाधिवेशनलाइ कर्मकाण्डी मात्रे बनाउने छुट नेपाली काँग्रेसलाई छैन । महाधिवेशन यदी कार्यतालिका अनुसार तोकिएकै समयमा सम्पन्न हुने हो भने अब जम्मा जम्मी २ महिना मात्र बाँकी छ , यस्तो बेलामा काँग्रेसले आफ्नो राजनितिक कार्यदिशा, निति तथा मुद्धाहरुलाई फ्लोरमा ल्याएर बहसमा ल्याउन आवश्यक छ । तर विडम्वना काँग्रेस नेतृत्व कसरी नेतृत्व हत्याउने भन्ने एउटै एजेण्डामा यती बेला केन्द्रीत देखिन्छ । व्यक्तीगत रुपमा कुनै नेतालाई आक्षेप लगाउन खोजिएको हैन । तर पनि नेतृत्वले यस्ता महत्वपुर्ण मुद्धाहरुलाइ ओझेलमा पारेर अघि बढ्दा यसले आम नेपाली जनतामा नैराश्यतथा भने जगाएको छ , यसमा नेतृत्वको ध्यान जाओस् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा पछि २०७४ सालको निर्वाचन नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भईसकेपछि शक्तिमा आएको सत्तासीन दलले स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारमा प्रचुर बहुमतका साथ सरकार चलाउने अवसर पाउँदा भष्ट्राचारको दलदलमा परेर, आन्तरीक राजनीतिक खिचातानीका कारण देशलाई सहज रुपले चलाउन सकेको छैन, फलस्वरुप अहिले दोस्रोे पटक संसद बिघटन भएर एउटा गम्भिर राजनैतिक संकटको सन्निकट देश पुगेको छ । बर्तमान सरकारको अकर्मण्यताको कारणले निराशामा रहेका जनतालाई आशाको स्रोतको रुपमा स्थापित हुनका लागि नेपाली काँग्रेसका लागि यो निकै सुनौलो अवसर हो । त्यसैले पनि काँग्रेसको १४ औं महाधिवेशन नेतामा मात्र सिमित नहोस् , यसले राजनैतिक कार्यदिशा , राष्ट्रीय मुल मुद्धाहरु मा घनिभुत छलफल गरेर निति तय गरोस् । होइन भने काँग्रेसको १४ औं महाधिवेशन फगत एक कर्मकाण्ड मात्र सावित हुनेछ ।

नेपाली काँग्रेस भित्र केही आशा लाग्दा युवा नेताहरु नभएका होईनन् तर उनिहरु पनि कुनै न कुनै रुपमा शेरबहादुर दाई , रामचन्द्र दाइ , शशांक दाइ , सिटौला दाइकै पछि छन् । १४ औ महाधिवेशनमा काग्रेसले गर्नुपर्ने बहसका बारेमा राम्रै जानकार भएपनि कतिपय अबस्थामा आफ्नै पद धरापमा पर्ने भएपछि दाइहरुका यि भाइहरु पनि चुपनै बस्छन् । यो विगतले पनि देखाएकै छ । यस कारण यो पटक आशा गरेका यि नेताहरुले काँग्रेसको आगामी राजनैतिक कार्यदिशा, राष्ट्रीय मुल मुद्धाका बिषयहरुमा प्रसस्त छलफल गर्ने र सोहि बमोजिमको निति तय गर्नका लागि समय खर्च गरुन् भन्ने आम अपेक्षा छ । शिर्ष नेताहरुलाई एजेण्डाहरु दिएर प्रसस्त बहसका लागि दवाव दिउन् भन्ने आम अपेक्षा छ । यदी यसो भएन या गर्न सकिएन भने , नेपाली काँग्रेसको १४ औं महाधिवेशन नेता छान्ने एउटा जात्रा मात्र हुनेछ , साच्चै यो महाधिवेशन हुनेछैन , फगत् एउटा कर्मकाण्ड मात्र हुने छ । त्यसकारण कर्मकाडी मात्र नवनोस् नेपाली काँग्रेसको १४ औं महाधिवेशन , यसका लागि तल्लो तहबाटनै दवाव दिन आवश्यक छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.