www.tandavnews.com
Fact ~ In search of truth

रातो आन्दोलन र ‘डिग्निटी’को खोजमा नडग्मगाएका डेगहरु

दिपक के श्रेष्ठ
पाेखरा/ताण्डव न्यूज

२०५५ असारको २ गते त्यस्तै साँढे ८ बजे पाेखराकी प्रमिला खाना खाइवरी सुतेकी थिइन् । भुँइतलामा ‘ड्वाङ्ग’को अवाजसँगै कानमा ठोक्किन आइपुगेको खैलाबैलाले उनको निन्द्रा टुट्यो । बाहिर हेदा श्रीमान् कृष्ण तझ्या भुँइमा बेहोस भई लडिरहेका थिए पछि थाहा पाइन्, कृष्ण चुरोट सल्काउन जाँदा भ¥याङबाट लडेका रहेछन् । लोडसेडिङको अँध्यारोमा लडेका कृष्णलाई गण्डकी अस्पताल लगियो । टाउको पछाडीको नशामा गम्भीर चोट लागेका कृष्ण बिहान ४ बजेतिर बेहोसीमै नउठ्ने गरी गए, यता प्रमिला उठ्न सकिनन् ।

१३ दिने किरियामा बसेकी प्रमिलाको कानमा अलच्छिनी, पोइटोकुवा, अभागीजस्ता शब्द घोच्न आइरहे । काजकिरियापछि २ छोराछोरीसँग तय गर्नुपर्ने जीवनको लामो बाटोले उनलाई तर्साउन थाले । धित मारेर मनको पेटारो खोल्दै उनले भनिन्, ‘३ दिन अघिदेखि मलाई सकेसम्म खान र सुत्नमात्रै मन लाग्थ्यो, सपनामा प्रायः दाँत झरेको, ओरालो लागेको मात्रै देख्थे ।’

Batas

नराम्रो संकेत पाइरहेकोबेला त्यसैदिन आफुसँगमात्रै सुत्ने छोराले बाबासँग सुत्छु भन्यो । र, त्यसैदिन किनमेल गर्दा ५ वटा सामान घर भित्रियो, जुन उनको परिवारमा अपशकुन थियो । त्यसैछेका ज्योतिषले लघुरुद्री लगाउने सल्लाह दिँदा ‘कि राँडी हुन्छेस्, कि रानी’ भनेको उनले सम्झिन् । ‘त्यस्तो भनेको के होला ? भन्ने लाग्यो’ प्रमिला भन्छिन् ‘यस्तो हुनु रै’छ ।’

पृथ्वीनारायण क्याम्पसमा रसायनशास्त्र अध्यापन गर्ने कृष्णले जीवनको साश्वत सत्यलाई अंगालेपछि प्रमिलालाई अब जसोतसो तंग्रिनै थियो । उनले श्रीमान्को जायजेथा खोज्न थालिन् । अंशबण्डा भएको परिवारको सम्पत्ती नामसारी गर्नु उनको पहिलो र प्रमुख काम थियो । परिवारमा कुरा गर्दा उनलाई तीतो जवाफ आयो । ३० वर्षे जवान प्रमिलाको नाममा सम्पत्ती नामसारी गर्न परिवार मानेन । छोराको नाममा सम्पत्ती सार्न उनको मनले स्वीकारेन ।

आफन्तहरुले सम्पत्ती नामसारी गरेर पोइल जान्छे, भन्थे । अझ, परिवारले उनलाई अंशबण्डाको कागजै दिन नमानेपछि उनी मृत्यु दर्ता र नाता प्रमाणित गर्न प्रशासन धाउन थालिन् । छोरीले पाएको हण्डरलाई नजिकबाट नियालिरहेका बुवा जुननारायण रक्षाकवच बनेर आइपुगेपछि प्रमिलामा साक्षात् दुर्गा सवार भयो । बुवाले ‘छोरी तिमी एक्ली छैनौ, आइपरेको म सम्हाल्छु’ भनेपछि प्रमिला अंशको सम्पत्ती नामसारी गर्न तातिन् ।

प्रशासनमा फोटो चाहिने, पुरानो फोटो लिएर जाँदा सेतो सारीमा हालै खिचेको फोटो मागिएपछि उनको अनुहार मलिन भयो । त्यसो त घरमै सेतो सारीमा बस्दा छोराछोरी तर्सिन्थे । येनकेन प्रशासनको काम सल्टाएपछि बुवा जुननारायण दमौलीबाट एक ट्रक सामान लिएर नयाँ घर बनाउने भन्दै आइपुगे । उनै बुवा र भाइहरुको जोडबलमा रानीपौवाको पुरानो घर भत्काएर अहिले भएको ४ तले शानदार घर ठडिएको हो ।

सुरुका दिनमा हिमाञ्चल बोर्डिङमा पढाउने प्रमिलालाई किरिया बस्दा भेट्न आउने क्रममा पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघका तत्कालिन अध्यक्ष स्वर्गीय महेन्द्रभुषण थापाले क्याम्पसमा जागिरको मेसोमेलो मिलाइदिए । किरियापछि मंसिर ८ मा उनको नियुक्ति शिक्षा तथा कानून संकायको प्रशासनमा भयो ।

‘डिग्निटी’को खोजी

समयले दुखको लेउ काट्दै थियो । छोराछोरी हुर्कदैं थिए । जागिर थियो, घरपनि । तर, जीवन बाँच्न चाहिने महत्वपूर्ण कुरा ‘सम्मान’ थिएन । एक्लो हुनुका पीडालाई यदाकदा भुलाइरहेकाबेला बिधुवा शब्दले मुटुमा तीर हान्थ्यो । शिक्षित र सम्पन्न जीवन बाँचिरहँदा पनि भोग्नुपरेको अपमानमा कमी आएन । शोकलाई शक्तिमा बदल्नु थियो नै । र, सुरु गरिन्, आफुजस्तै महिलाहरुको खोजी ।

उनीजस्तै सम्मानित जीवन बाँच्ने लालसामा रहेका दुर्गा न्यौपाने, गंगा खनाल, विष्णु तिवारीलगायत एकल महिलासँग प्रमिलाको भेट भयो । नदीपुरस्थित कन्या क्याम्पसमा भेला गर्दा उनीहरुसँग बोल्ने केही शब्द नै थिएन । शब्दहरु केवल आँशु बनेर परेलीबाट झरिरहे । झोला बोकेर भेलामा पुगेका उनीहरुले गंगा खनालको संयोजकत्वमा ‘एकल महिला समूह’ गठन गरे । र, झोलामै अफिस बोकेर फर्किए ।

त्यसपछिको एक दिन पत्रिकामा उस्तै दुख बोक्नेहरुको संस्था ‘मानवअधिकारकालागि महिलाः एकल महिला समूह’को समाचार पढेपछि उनीहरुको समूहले काठमाण्डौं सम्पर्क गरे । समूहकी केन्द्रीय अध्यक्ष लिलि थापाले पनि चासो देखाइन् । तत्काल नदीपुरमा ३ दिने महिला भेला आयोजना गरियो । ५० जना सहभागी हुने अपेक्षा गरिएको भेलामा २ सय समेटिए । समूहले खोजी गर्दै र समेट्दै जाँदा हालसम्म १ बजार बढी समाहित भइसकेका छन् ।

केन्द्रको सहयोगमा दुर्गा न्यौपानेको साथ पाएर समूहले एकल महिलालाई सिलाई, कानून, च्याउखेति, बुटिकलगायत तालिम दिएर आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ । एकल महिलाका २० छोराछोरीलाई विद्यार्थी छात्रवृत्ति दिइएको छ । केन्द्रको सहयोगमा निम्न आय भएका १० जनालाई छात्रवृत्तिको व्यवस्था छ । निर्धन र गरिबीलाई महामारी ठान्ने समूहले एकल महिलालाई सम्मानित भई बाँच्न आर्थिक सबलीकरणमा ध्यान दिएको उनी बताउँछिन् ।

सक्रियता नै सक्षमता

जीवनलाई कुवामा जम्ने पानी बनाइयो भने लेउ लाग्छ, नदीजस्तै बगाउन खोज्यो भने लक्ष्य भेटिन्छ भन्ने मान्यता राख्ने प्रमिलाले शोकपछि आफुलाई सक्रिय राख्न खोजिन् । ०५८ सालमा पोखरामा एफएम रेडियो खुलेपछि आरजे तालिम लिएर सक्रियताको शुरुवात गरिन् । पछि समय किनेर माछापुच्छ्रे र हिमचुली एफएममा कार्यक्रम चलाइन् ।

उनलाई कसैको सामु कमजोर हुनु थिएन । ‘केही’ गर्ने उद्देश्यले माइक्रोमिडिया नामक संस्था दर्ता गरी ०६१ सम्म पोखरा क्लासिफाइड पत्रिका चलाइन् । रेमिट्यान्स अफिससमेत चलाइन् । अरुको मोटरसाइकलमा बसेर यताउता जाँदा परिवारले वचन लगाएपछि लाइसेन्स लिएर स्कुटर किनिन् । हाल उनीसँग आफ्नै गाडी छ ।

उनको साहस र सक्रियताको सम्मानस्वरुप मानवअधिकार संघ (हुर्जा) कास्कीले प्रदेश ४ स्तरीय यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कारबाट सम्मान ग¥यो । महिला अधिकारको क्षेत्रमा क्रियाशील भएको भन्दै गरिएको सम्मानले थप जिम्मेवार बनाएको उनको धारणा छ ।

‘रातो’ आन्दोलन

विधवा भएपछि लगाइने सेतो परिधान जीवनकै निरस क्षण मानिने अनुभव छ महिलाहरुको । पूजापाठ होस् वा कुनै औपचारिक कार्यक्रम, सँधै पछाडी बस्नुपर्ने, दिएको खानुपर्नेजस्ता विभेदबाट अवाक् थिइन् प्रमिला । उनले एक समय ब्यूटीपार्लर पनि चलाएकी थिइन् । तर दुलहीको मेकअप गर्दा ‘अलच्छिन लाग्छ’ भन्ने सुन्दा उनको कम्ता मन दुखेन । पूजापाठका दौरान अक्षतापानी छुन नदिने विभेदले झनै पोल्थ्यो उनलाई ।

०६१ चैत २७ गते महिला तथा सामुदायिकत सचेतना समाज कास्कीले चिप्लेढुंगामा महिलामाथि हुने विभेद अन्त्य गर्ने उद्देश्यले रातो टीका कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा विधवा महिलाहरुलाई रातो टीका लगाइदिएर सेतो पहिरनबाट मुक्त गराउने अभियान थियो समाजकी अध्यक्ष गजकुमारी गुरुङको ।

कार्यक्रममा प्रमिलाको नाम बोलाइरहँदा उनी घरमै थिइन् । विद्रोह रुचाउने प्रमिला कार्यक्रममा जाने हिम्मतै गरिनन् । परिवार र समाजबाट बहिष्कार हुने डरले उकुसमुकुस भइरहेकोबेला उनै बुवा जुननारायणले हात समातेर कार्यक्रमस्थल पु¥याए । रातो टीका लगाएपछि बुवाले भने, ‘सामाजिक बहिष्कार गरेभने म पाल्छु ।’

साथी दुर्गासँग प्रमिला

त्यसपछि सेतो कपडा फेरिएपनि समाजको नजर फेरिएन । दुर्गा न्यौपानेले यसबीच आडभरोसा दिइरहिन् । वार्षिकी सकिएपछि म पनि रातो लगाउँछु भन्दै प्रमिलालाई साथ दिइरहिन् । ‘रातो साडी लगाउँदैमा श्रीमान् फर्केर आउँदैन’ भन्दै फेरि सुरु भयो अर्काे शब्द आतंक । रातो लगाउँदा ‘बिहे गरेको हो ?’ भन्ने प्रश्न आइरहन्थ्यो । त्यसबेला रातो पहिरनमा हिड्दा पागलसमेत भने । ‘वास्तवमा हामी पागल नै थियौ, पागल भएरै ब्युँझिएका महिला थियौं’ उनले अतीत सम्झिइन् । विभेद र प्रश्नसँग सामना गर्न उनीसँग उत्तर कम आत्मबल बढी थियो ।

खुसीमा जीवन

आफुसँग आत्मबल त थियो नै तर घर बनाउनेदेखि जीवन बनाउनेसम्म बुवाको साथ रहेको बिर्सन नसकिने ठम्याई छ प्रमिलाको । वियोगको २३ वर्ष बितिसकेछ । अब खुसीको मैदान अघिल्तिर देखिन थालेको छ । छोरी प्रकृतिको नाम पछाडी गुरुङ जोडिएको छ । ३ वर्षे नातीसहित उनीहरु सपरिवार लन्डनमै रहेको प्रमिलाले सुनाइन् । छोरा आकाशले पोखरा विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा ब्याचलर सकेपछि हाल मास्टर्सको अध्ययनसँगै विद्युत प्राधिकरण कुश्मामा कार्यरत छन् । बुहारी नजिकैको आर्मी हस्पिटलमा कार्यरत छिन् । ‘अहिले नाती पनि ९ महिनाको भइसक्यो’ थोरै हाँसो र गर्वकासाथ उनले सुनाइन् ।

परिवारसँग प्रमिला

‘गरेर देखाउने’ सोंच भएपनि कसैसँग इष्र्या नराख्ने उनी कत्र्तव्यमा अडिग हुनुपर्ने धारणा राख्छिन् । आँशुको भेल तरेर आएको ठान्ने प्रमिलासँग कसैप्रति गुनासो पनि छैन । गुनासो गर्दा झनै कमजोर हुने सोच्छिन् उनी । सामाजिक सोंच बदलिरहेकोमा प्रसन्न देखिने प्रमिलासँग अहिले खुसीका बिस्कुनहरु छन् ।

हाल समूहको गण्डकी प्रदेश अध्यक्षको भूमिकामा रहेकी प्रमिला वार्तालापका दौरान कुनै सुखान्त चलचित्रकी नायिका झैं देखिएकी थिइन् । उनलाई ‘अब खुसीका दिन आएकै हुन् त ?’ भन्ने प्रश्नले भावुक बनायो शायद । भनिन्, ‘२५ वर्षभित्रमा एकल महिलाकालागि विभेदरहित समाजको परिकल्पना गरेका छौं, अभियान सुरु भएको १६ वर्ष भयो । सामुहिक खुसीको दिन आउन अझैं बाँकी छ ।’ केही प्रश्न बाँकी थिए, तर एकमुष्ट जवाफ आयो ‘२३ वर्ष घामपानी खाएपछि जीवन बुँझे ।

तस्बिर स्रोतः प्रमिला तझ्या

( यो फिचर स्टोरी ११ औं अन्तर्राष्ट्रिय  एकल महिला दिवसको सन्दर्भमा तयार पारिएको हो ।)

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.