www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको नीति तथा कार्यक्रम पारित, भोलि बजेट आउने

पोखरा /ताण्डव न्यूज ।

पोखरा महानगरले नवौ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम परिमार्जनसहित पारित भएको छ ।

महानगरका मेयर मानबहादुर जिसीले बुधबार नवौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको हो । आफ्नो कार्यकालको अन्तिम नगरसभा गरेका मेयर जिसीले यस पटक नया कुनै कार्यक्रम भने समावेश नगरेको बताए । क्रमागत योजनालाई प्राथमिकता दिईएको जिसीको भनाई थियो ।

Batas

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर जिसीले महानगरमा आफूले कार्यभार सम्हालेपछि गरेका विकास निर्माणका फेहरिस्त पनि प्रस्तुत गरे । उनले चार वर्षको अवधिमा वडा तथा महानगरपालिका स्तरका २६८ सडक ढलान योजना, ८२१ सडक कालोपत्रे एवं मर्मतका योजना, २९१ सडक ग्राभेल तथा स्तर उन्नतिका योजना र ४१ वटा नयाँ ट्र्याकका योजना सम्पन्न भएको बताए । जस अनुसार अहिलेसम्म २३१ किमी सडक ग्राभेल, १३७ किमी सडक कालोपत्रे, ८३ किमी साना तथा मझौला सडक ढलान, ३७ किमी सडक मर्मत एवं स्तर उन्नति कार्य सम्पन्न भएको उनले उल्लेख गरेका छन ।

मुख्य सहरी सडकहरुको स्तरोन्नति गर्ने क्रममा पोखरा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा ४० करोड लागतमा २२ किमी सडक अस्फाल्ट कंक्रिट गर्ने काम गरिएको मेयर जिसीले बताए । ‘विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट हुने गरी निर्माण भइरहेको छ । प्राविधिक कारणले रोकिएको मेयर नमुना सडक निर्माण अन्तर्गत पोखरा वडा नं. १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक निर्माण भइरहेको छ भने वडा नम्बर १० को राममार्ग सडक निर्माण कार्य भएको छ ।’ उनले भने ।

मेयर जीसीले महानगरले आउँदो आर्थिक वर्षमा निर्माणाधीन पुल, सडक, भवनहरु पूरा गर्ने र निर्माण प्रक्रिया थालनी नभएका योजनाहरु सुरु गर्ने नीति लिएको जानकारी दिए । उनले कोभिड महामारीका कारण रोकिएका काम आगामी आर्थिक वर्षमा प्राथमिकता दिएर पूरा गरिने बताए ।

आगामी आर्थिक वर्षमा पोखरा महानगरको प्रधान कार्यालय निर्माण हुने नीति तथा कार्यक्रममा उल्लेख छ । उनका अनुसार महानगरको नयाँ प्रधान कार्यालय भवन पोखरा–१२ मा बन्नेछ । हाल महानगरको प्रधान कार्यालय पोखरा–८, न्युरोडमा छ ।

महानगरले आगामी वर्षदेखि नगर प्रहरीलाई ब्यारेक प्रणालीमा रुपान्तरण गर्ने नीति लिएको छ । महानगरको नीति तथा कार्यक्रममा नगर प्रहरीलाई थप जनशक्ति र स्रोतसाधनयुक्त बनाएर चौबीसै घन्टा ड्युटीमा खटाउने व्यवस्था मिलाउने उल्लेख छ ।

पूर्वाधार विकासमा महानगरले उपत्यकामा रहेका ताल संरक्षण, मठमन्दिरको निर्माण, समूह भवन निर्माण, नदिनाला नियन्त्रण, पुल पुलेसा, घाटहरुको निर्माण, नाला, सार्वजनिक शौचालय निर्माणजस्ता महत्वपूर्ण कामहरु गरेको मेयर जिसीले बताए ।

महानगरले वडा नं १२ स्थित जग्गामा सुविधासम्मन्न महानगर भवन निर्माणको योजना बनाएको नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि २२ करोड लागतमा बोलपत्र समेत आह्वान भइसकेको जिसीले बताए ।

कोरोना संक्रमितको शव व्यवस्थापन गरेको ठाउँमा पार्क बनाउने महानगरको योजना छ । हाल पोखरा–३२ मा कोभिड संक्रमितको शव व्यवस्थापन गर्दै आएको छ ।

महानगरले साविक लेखनाथ नगरपालिका भवनमा बनाएको कोभिड अस्पताललाई शिशुवा अस्पताल राख्ने र सय बेडको बनाउने नीति लिएको छ । आन्तरिक पर्यटनलाई सघाउन महानगरले जनप्रतिनिधिलाई पनि ५ दिन बिदा दिने नीति महानगरले ल्याएको छ ।

फुर्से, विजयपुर, सुइखेत, स्याङ्दी, भोटीखोला, स्यानी खोला, गुप्तेश्वर गुफा लगायत ठाउँको मापदण्ड परिमार्जन गर्न विज्ञ समितिको कार्यदल गठन भइसकेकाले नगरकार्यपालिकाले नै उक्त मापदण्ड परिमार्जन गर्न सक्ने कानूनी प्रावधान ल्याइनेसमेत मेयर जीसीले नीति तथा कार्यक्रममार्फत जानकारी दिए ।

नगरसभाको बैठक भोलि पूर्वान्ह ११ बजेसम्मका लागि स्थगित भएको छ । भोलिको बैठकमा उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८/७९का लागि बजेट पेश गर्ने कार्यसूचि रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.