www.tandavnews.com
Fact ~ In search of truth

बागलुङः कालो ढुसी रोकथाम कार्ययोजना

बागलुङ ।

आँखामा लाग्ने कालो ढुसी फैलिन सक्ने भन्दै बागलुङ नगरपालिकाले पूर्व तयारी थाल्ने भएको छ ।

कालो ढुसी रोगको नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्ने योजना सार्वजनिक भएको हो । कालो ढुसीको नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारीमा रहने योजना रहेको नगरप्रमुख जनकराज पौडेलले बताए ।

Batas

कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले कालो ढुसीको नियन्त्रण तथा रोकथाम प्राथमिकतामा राखेको हो ।

बुधबार नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कालो ढुसी रोगको नियन्त्रण र रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । ‘भारत लगायतका देशमा महामारीको रुपमा फैलिएको यो रोग नेपालमा भित्रिने सम्भावना छ”, पौडेलले भने, ‘कोरोना महामारीको जस्तो पूर्व तयारी बिना यो रोगसँग बच्न कठिन छ ।’

नगरपालिकाले आधारभूत स्वास्थ्यको जिम्मेवारी लागू गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए । शव बहान निरन्तर सञ्चालनदेखि हरि खड्का ट्रमा सेन्टर सञ्चालनका लागि पहल गरिने कार्यक्रम स्वास्थ्य क्षेत्रमा समावेश छन् । ‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत ऋण उपलव्ध गराउने नीति लिएको पौडेलले बताए ।

जोखिमपूर्ण काम गर्ने मजदुरको लागि जोखिम भत्ता, टेलिमेडिसिन सेवा र बलेवामा १५ शय्याको नगर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक भएको छ । नगरस्तरका ९ सडक र वडा स्तरीय सडकलाई स्तारेन्नति गरी पक्कि सडकहरु मर्मत गर्ने कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ ।

बागलुङ बजारका चोक सुधार, सडक मापदण्ड कायम गर्ने, व्यवस्थित पार्किङको व्यवस्था गर्ने, चिप्लेटी बस पार्कलाई जीप पार्कमा परिणत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

खरको छानो विस्थापन र घरबिहिनलाई घर निर्माण गर्ने कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको छ । स्थानीय पाठ्यक्रम निर्माण, भाषा संस्कृतिको संरक्षण र प्रर्वद्धन, पर्यटन प्रर्वद्धनका कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएका छन् । मासुका लागि चिस्यान केन्द्र निर्माण, जडिबुटी खेती प्रवद्र्धन कार्यक्रम, एक वडा तीन उत्पादन, युवा व्यवसायी प्रर्वद्धन कार्यक्रमलाई जोड दिईएको पौडेलले बताए ।

भगत सर्वजीत सीप रोजगार प्रर्वद्धन कार्यक्रम आउँदो आर्थिक वर्षमा प्राथमिकताका साथ अघि बढाइने नीतिमा उल्लेख गरिएको छ । कला सहित्य, सूचना प्रविधि, युवा खेलकुद र छाडा कुकुर नियन्त्रण सम्मका कार्यक्रम नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.