www.tandavnews.com
Fact ~ In search of truth

अर्थ र भौतिक ‘होल्ड’: उर्जा तथा सिंचाईमा झर्‍यो जसपा, माओवादीलाई स्वास्थ्य

दिपक के श्रेष्ठ
पाेखरा/ताण्डव न्यूज

गण्डकी प्रदेशमा जेठ २९ गते मन्त्रीको शपथ खाएका ४ जनाको मन्त्रालय आइतबार छिनोफानो हुने भएको छ । अहिलेसम्मको परिदृश्यमा मन्त्रालयको टुंगो लागेपनि नेकपा माओवादी ‘कन्भिन्स’ हुनेमा अझै शंका छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतको टोली मन्त्रालय विभाजनको गाँठो फुकाउन काठमाण्डौं पुगेर फर्किएपछि जनता समाजवादी पार्टी अर्थ छाडेर उर्जा तथा सिंचाई मन्त्रालय सम्हाल्न राजी भएको छ ।

हाल गोर्खाको कार्यक्रममा व्यस्त रहेका जसपाका मन्त्री हरिशरण आचार्यका स्वकीय सचिव रविन आचार्यका अनुसार सरकार र मन्त्रालय गठनमा बाधक नबन्ने योजना अनुसार उर्जा तथा सिंचाइमै राजी भएको बताए । ‘हो, जसपासँग अर्थमै सहमति भएको हो तर वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हामीले उक्त मन्त्रालयमै काम गर्न राजी भयौं’ आचार्यले भने ‘हामी बाधक बन्न चाहेनौं र जनताको जिम्मेवारी पनि पुरा गर्नुपर्ने आवश्यकता छ ।’ जसपाकै कारणले डेडलको अवस्था नरहोस् भनेर नयाँ शिराबाट अघि बढेको उनको भनाई छ ।

Batas

जसपा सिंचाईमै राजी भएपनि ठूला मानिएका अर्थ र भौतिक मन्त्रालयको बाँडफाँट गर्न कांग्रेसले अझै सकेको छैन । सकेसम्म ठूला मन्त्रालय आफै राख्न लागिपरेको कांग्रेसले स्वास्थ्य मन्त्रालय माओवादीलाई दिने भएको छ । कांग्रेसका मन्त्री कुमार खड्काले सामाजिक विकास मन्त्रालय लिने भएका छन् ।

मन्त्री खड्काले भने, ‘जसपालाई सिंचाई र माओवादीलार्ई स्वास्थ्य मन्त्रालय दिएर भोली (आइतबार) कार्यविभाजन टुंगिन्छ ।’ अर्का मन्त्री दिपक मनाङ्गेलाई कुन मन्त्रालय दिने भन्ने विषयमा आज साँझसम्म टुंगिने खड्काले बताए । उनका अनुसार मनाङ्गेलाई खेलकुद मन्त्रालयमै निरन्तरता दिन सकिन्छ । ‘४ मन्त्रीको कार्यविभाजनपछि बजेटबारे छलफल हुन्छ, त्यसपछि मन्त्रालय बिस्तारमा जुट्नेछौं’ खड्काले भने ।

मन्त्री खड्काले कार्यविभाजनको खाका कोरिरहँदा माओवादीका सांसद दिपक कोइराला भने कांग्रेसले अर्थ लिए आफुहरुले भौतिक पूर्वाधार तथा याेजना मन्त्रालय पाउने अडान लिइरहेका छन् । ‘सम्भवतः ४ मन्त्रीको छिनोफानो आज बेलुकासम्म हुन्छ’ कोइराला भन्छन् ‘मन्त्रालय विस्तारकाक्रममा माओवादीले भौतिक पाउँछ नै ।’

यसअघि भौतिकमै दाबी गरिरहेका स्वतन्त्र सांसद मनाङ्गेलाई खेलकुदमै दोहो¥याउने योजनामा रहेको सूचनाकाआधारमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । मन्त्री मनाङ्गे र उनका स्वकीय सचिव टीका भण्डारीको मोबाइल अफ रहेको छ ।

शपथ लिएको २ हप्ता बितिसक्दासम्म मन्त्रालयको टुंगो लगाउन नसक्दा आलोचित बनेका मुख्यमन्त्री पोखरेल आइतबार ४ जनाको विभाग तोकेर मन्त्रालय विस्तारको योजनामा रहेका छन् । त्यसपछि होल्डमा रहेका अर्थ र भौतिक मन्त्रालय कांग्रेस र माओवादीले सम्हाल्ने सांसद कोइरालाको ठहर छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.