www.tandavnews.com
Fact ~ In search of truth

‘वाचडग’ भन्दा माथि उठेका पत्रकारहरु

पोखराबाट राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकाहरुको एक समूह आइतबार अपरान्हको झरीपछि हातमा जातीय विभेदको खिल्ली उडाउने पम्पलेटसँगै मुख्यबजार चिप्लेढुंगाको मानवअधिकार चोकमा ‘मौन’ उभिए । समाचार लेख्न छाडेर प्रतीकात्मकरुपमा उभिएका उनीहरु समाजमा सदियौंदेखि जरा गाडेर बसेको कथित जात प्रथामाथि विरोध गरिरहेका थिए ।

उनीहरु जसै त्यहाँ मौनरुपमा विप्लव गरिरहेका थिए, मैले आफुलाई सन् २००१ तिर स्नातकोत्तर पढिरहँदाको क्षण सम्झिए । कान्तिपुर सिटी कलेजको कक्षाकोठामा गुरु रामकृष्ण रेग्मी पावरवाला चस्मालाई नाकको तल्लो भागमा अड्याएर हामीलाई सिभिक जर्नालिज्मको पाठ पढाइरहेका थिए । अझ भनौ, यही विषयबाट हामीलाई परम्परागत पत्रकारिताभन्दा बाहिर ‘वेरियर’ बन्न आदेश दिइरहेका थिए । कक्षाकोठामा पढाइरहँदा जब रेग्मी सरले चोर औंला ठड्याउँदै केही भन्थे, हामी त्यसलाई पत्रकारिताको मूलमन्त्र ठान्थ्यौं ।

सोही सिभिक जर्नालिज्मलाई अथ्र्याउँदै, परिभाषित गर्दै रेग्मी सरले अबको पत्रकारिता वाचडग (हेर्ने कुकुर)मा सिमित नभई आवश्यक परे बार्किङडग (भुक्ने कुकुर) बन्नुपर्नेमा जोड दिएका थिए । लेखेर, बोलेर, भनेर गरिने खबरदारी अर्थात् वाचडगमा मात्रै सिमित भए समाज रुपान्तरण हुन समय लाग्नेतर्फ औंल्याउँदै यदाकदा पत्रकार एक्सनमा जानुपर्छ भन्ने उनको ब्रिफिङ मेरो मस्तिष्कमा रहिरह्यो । तर उनले भनेजस्तै ‘भुक्न’ म पछि परेपनि सहकर्मीहरु मैदानमा उत्रिएको देखेपछि नेपाली पत्रकारिता अब राजनीतिभन्दा परै रहेर ‘एजेण्डा सेटिङ्’मा अघि बढेको छ ।

Batas

समाचार र समाचारीय विषयवस्तुमा प्रयोग हुने टर्मिनोलोजी आम पाठकहरुलाई केही क्लिष्ट र कम्प्लिकेटेड लाग्न सक्छ । ‘भुक्ने’ र ‘एजेण्डा सेटिङ’ जस्ता शब्द पूर्णरुपमा सिमान्तकृतहरुको पक्षमा वकालत गर्न प्रयोग गरिन्छ । हुनत पत्रकारिताको शब्दकोषभित्र छिर्दा आमजनमानसलाई सचेत बनाउने, पक्षपाति गर्ने एडभोकेसी (वकालती) पत्रकारिता पनि नभएको होइन, तर यस्ता प्रकार केवल विश्वविद्यालयका कक्षाकोठामा सिमित भएको पाउँछौं ।

खैर, प्रसंगमा फर्काै । समाचार लेख्ने दायित्व भएका पत्रकारहरु किन मैदानमै ओर्लिए ? आवाजविहीनको आवाज भनिने पेशामा रहेर किन आफै आवाजविहीनको शैलीमा उत्रिए ? साथै, समाचार लेखे भइहाल्यो नी, भन्ने आशय पनि आउनसक्छ । हरेक क्रियापछि आउने प्रतिक्रिया सकारात्मक नै हुन्छन् भन्ने पनि छैन । सकारात्मक र नकारात्मक दुबै टिप्पणीबीच म भुक्ने पत्रकारहरुको पक्षमा छु । समाचार लेखेर आफ्ने धर्म निर्वाह गरेपनि त्यसको नतीजा फलदायी नहुँदा बाध्य भएर पत्रकार विरोधमा उत्रिएका हुन् । राजधानीमा रुपा सुनारको प्रकरणपछि सुरु भएको यो आन्दोलनले तपाई र मेरोमात्र हैन देशकै रुपमाथि प्रश्न गरेको छ ।

समाज अहिले रुपा सुनार भर्सेस सरस्वती प्रधानबीच ध्रुवीकरणमा गएको छ । दुबैको जातभित्र लामो लहरो छ । नेपालको सभ्यता र इतिहास बोकेकोमात्र हैन विकास र सम्पन्नताको सूचिमा माथि रहेको र परिवर्तनको हरेक आन्दोलनमा अग्रमोर्चामा रहेको काठमाण्डौंमा रुपामाथि भएको विभेदले देशको अँध्यारोलाई उजागर गरेको छ । ‘जात’बीचको यो लडाइमा जातहरु नै हारिरहेछन् । यही भद्रगोलमा राजनीतिका व्यापारीलाई इस्यु मिलिरहेछ र उनीहरुको व्यापार फस्टाइरहेको छ । जहाँ जातहरुलाई हात लाग्यो शून्यबाहेक केही प्राप्त भएको छैन ।

यसबीच पोखराका ‘केही’ पत्रकार जातीय विभेदविरुद्ध शंखनाद गर्दै मैदानमा ओर्लिएको खबरलाई मैले सुखद ठानेको छु । यसको पक्ष–विपक्षमा हुने तर्कबीच कूतर्कको प्रवेश भए जीत उसैको हुनेछ । धेरै पहिल्यैदेखि समाजलाई यसरी नै जित्न बानी परिरहेको छ । र, यहिनेर समाज बाराम्बार हारिरहेको छ । म सोचिरहेको छु, दलितलाई रुझाएर बग्ने पानीले मलाई भिजायो भने ? दलितलाई छुएर बहने हावामा मैले श्वास फेरे भने ? भन्नुहोस्, मैले प्रत्येकपल्ट सुनपानी छर्किरहने ! मैले श्वास फेर्नै छाडिदिने !

कलमभन्दा तरबार नै बलियो भइरहेको यो मुलुकमा पत्रकारहरुले केही समय लेख्न छाडेर गरेको यो आन्दोलनप्रति न्यूजरुमबाट मेरो ऐक्यबद्धता । कसैको संस्कार, रितिरिवाज, संस्कृतिलाई कुनै जातले ‘बिटुलो’ बनाउँछ भने त्यस्ता आडम्बरी परम्परालाई तिलाञ्जली दिए हुन्छ । सामान्य रैतीबाट माथि उठ्न गरिएका विभिन्न आन्दोलनले कसलाई कति अधिकार दियो मलाई लेखाजोखा गर्नुछैन । ‘मान्छे’जस्तो देखिनेहरुले मान्छेलाई गरेको विभेद अस्वीकार्य छ । मलाई यो देशका मान्छेहरु केवल ‘मान्छे’ भएर बाँचेको हेर्न मन छ । नाचेको हेर्न मन छ । हाँसेको हेर्न मन छ ।

अन्त्यमा, वाचडगभन्दा माथि उठेर मैदानमा ओर्लिएका पत्रकारहरुलाई मेरो सलाम ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.