www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री पोखरेल-इजरायली राजदूत भेट

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता बृद्धि गर्न आफूहरु इजरायलसँग सहकार्य गर्न तयार रहेको बताए ।

अहिले गण्डकी सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने उनले बताए । यसको व्यवस्थापन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले गरिरहेको छ । आराभा नेपाल इजरायलमा गई त्यहाँको कृषि प्रणालीअनुसार लमजुङ दुराडाँडामा खेती गरिरहेका युवाले खोलेको पब्लिक लिमिटेड कम्पनी हो । उक्त कम्पनीका कृष्ण बजगाईंले पहिला नेपालमै तालिम दिएपछिमात्रै किसानलाई इजरायल पठाउने गरिएको बताए ।

Batas

मुख्यमन्त्री पोखरेलले नेपाल र इजरायलबीच ६० वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै तत्कालीन प्रधानमन्त्री विपी कोइरालाको पहलमा उक्त सम्बन्ध स्थापित भएको स्मरण गरे । इजरायलबाट दक्ष जनशक्ति नेपालमा ल्याएर सहकारी प्रवद्र्धनका लागि समेत समेत बिपी कोइरालाले पहल गरेको उनले बताए । २ देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको उनको भनाइ थियो ।

राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे । उनले दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताए । अहिले सातै प्रदेशबाट ५ सयको हाराहारीमा युवा किसानहरु तालिमका लागि इजरायलमा छन् ।

उक्त अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रदेशका निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले नेपाल इजरायल सम्बन्ध र सहकार्यका बारेमा भनाइ राखेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.