www.tandavnews.com
Fact ~ In search of truth

कोरोना वापतको भुक्तानी ठप्प, बिमा कम्पनी भन्छन, ‘अर्थ मन्त्रालयले रकम दिएन’

काठमाडौं /ताण्डव न्यूज ।

कोरोना संक्रमितहरुले प्राप्त गर्ने भनेको बिमा बापतको रकम भुक्तानी प्रकृया ठप्प भएको छ ।

अर्थमन्त्रालयले रकम निकासा नगरेको भन्दै बिमा कम्पनीहरूले कोरोना बीमा दाबी भुक्तानी दिन छोडेका हुन । गत वर्षबाट सुरु भएको कोरोना बीमा कार्यक्रम पनि यही असार मसान्तमा सकिँदैछ ।

Batas

कोरोना संक्रमितलाई लक्ष्यित गर्दै आकर्षक बीमा कार्यक्रम ल्याएपछि लाखौं मानिस यसमा जोडिएका थिए । संक्रमितको संख्या ह्वात्तै बढ्दा कम्पनीहरूले हात उठाएर यसको आर्थिक व्ययभार सरकारले बोकेको छ । तर, केही समयदेखि सरकारले पनि पैसा नदिएको भन्दै कम्पनीहरूले भुक्तानी गरेका छैनन् ।अहिले बीमाको बक्यौता रकम ५ अर्ब नाघेको छ ।

नेपाल बिमक संघको तथ्याङ्कअनुसार गत जेठ महिना सम्ममा ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको थियो । यसमा सरकार मातहतको बीमा समितिको एक अर्ब रुपैयाँ छ भने बाँकी पैसा बिमक संघ र बिमा कम्पनीहरुको हो ।

साढे तीन अर्बभन्दा बढीको दावी पर्न आए सरकारले नै बहन गर्ने भनेको थियो । तर, अहिलेसम्म अर्थमन्त्रालयले एक पैसा पनि नदिएको कम्पनीहरूले बताएका छन् ।

रकम भुक्तानीका लागि एक महिनाअघि नै अर्थ मन्त्रालयमा पत्र पठाइसकेको विमक संघका महासचिव चंकी क्षेत्रीले बताए । बिमा कम्पनी माथिको रकम सरकारले तिर्ने बताए पनि अहिलेसम्म सरकारबाट एक रुपैयाँ पनि भुक्तानीका रुपमा नआएको उनको दावी छ ।

क्षेत्रीका अनुसार अहिले कोरोना बिमावापत ५ अर्ब ७८ करोड ६ लाख रुपैयाँ विमितलाई भुक्तानी गर्न बाँकी छ । रकमका लागि अर्थ मन्त्रालयमा ताकेता गर्दा अहिलेसम्म कुनै जवाफ नपाइएको उनी बताउँछन् ।

अर्थ मन्त्रालयले भने यस विषयमा अहिले कुनै छलफल नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता महेश आचार्यले एक महिनाअघि नै कोरोना बिमाको रकम भुक्तानीका लागि पत्र आएको भए पनि छलफल नभएको बताए ।

हालसम्म जम्मा ९७ हजार ६ सय २८ जनाले कोरोना बीमा दावी भुक्तानीका लागि निवेदन दिएका छन् । उनीहरुको भुक्तानी गर्दा ९ अर्ब ३७ करोड ६६ लाख ८ हजार ७ सय ५४ रुपैयाँको भार पर्छ ।

कोरोना बिमा कार्यक्रम असार मसान्तबाट सकिँदैछ । त्यस उप्रान्त बीमितहरुलाई संक्रमण देखिए पनि उनीहरुले दावी गर्न पाउने छैनन् । तर, असार मसान्तभित्र दावी गरेकाहरुको भुक्तानी प्रक्रिया भने बन्द हुने छैन । कहिलसम्म भुक्तानी गरिसक्ने भन्ने कुनै कार्ययोजना नभएकाले धेरै बिमितहरु अन्योलमा छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.