www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ-मुग्लिन सडक : तीन दिनदेखि पहिरै पहिराे, ५० मिटर माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन

चितवन ।

निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए ।

Batas

त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो । नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो । उनले भने, “मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।” सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ ।

पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सो सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउछन् । मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ । सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताए ।

सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन् । ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमानै बिचल्लीमा परेको उनले जानकारी दिए ।

शुक्रबार विवाहका लागि हिडेका बेहुलाहरुको बिचल्ली परेको सामुहिक तस्विरहरु सार्वजनिक भएका थिए । यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिए ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.