www.tandavnews.com
Fact ~ In search of truth

घट्यो संक्रमण, घटेन जोखिम

सुदुरपश्चिम ।

समुदायस्तरमा फैलिएको कोरोना भाइरस संक्रमणले जनस्वास्थ्यमा चुनौती निम्त्याइरहेको छ ।

दोस्रो लहरको कारोनाका कारण समुदायका अधिकांश घरपरिवार सङ्क्रमित भइरहेका छन् । सङ्क्रमण भई जटिल अवस्थामा पुगेकामध्ये कतिपयको होम आइसोलेशनमा र धेरै व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिँदा शङ्कास्पद संक्रमित धेरै व्यक्तिले आफ्नो नमूना परीक्षण नगराएर नै होम आइसोलेशनमा बस्नुप¥र्यो ।

Batas

संक्रमणको समस्या भएको देश र खास गरी भारतबाट भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ ।

सेती प्रादेशिक अस्पताल कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर दोस्रो लहरको संक्रमणको समस्या देखिँदा धेरै बिरामी एकसाथ अस्पताल पुग्दा भएका भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा चुनौतीको सामना गर्नु परेको बताउछन् ।

उनले भने, ‘केवल भौतिक पूर्वाधार जुटाउनेतिर मात्र ध्यान पुग्यो, तर भौतिक पूर्वाधार सँगसँगै चाहिने स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने पाटो कमजोर हुँदा निकै समस्या झेल्नुप¥र्यो ।’ पछिल्ला दिनमा संक्रमण घट्दै गएसँगै निको हुने दर बढेको छ । नयाँ बिरामी भर्ना हुने र अवस्था जटिल हुने बिरामी घटेका छैनन् । उपचारपछि निको भएकाको स्वास्थ्यमा पनि विभिन्न खालका समस्या देखिन थालेका छन् ।

रिँगटा लाग्ने, कमजोरी महशुस हुने जस्ता स्वास्थ्य समस्या देखिएको धनगढीका एक जनाले बताए । संक्रमण र मृत्यु हुने दर केही घटेको देखिए पनि संक्रमणको जोखिम यथावत् रहेको बताइन्छ । आगामी दिनमा तेस्रो लहरको भाइरस फैलिने जोखिम कायम रहेको छ ।

प्रमुख डा. कमरले कोरोनाका नयाँ नयाँ भेरिएन्ट देखिन थालेकाले आगामी दिनमा जोखिम छैन भनेर भन्न नसकिने बताउछन् । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार कोरोनाको सङ्क्रमण फैलिएयता प्रदेशमा ७२ हजार ९२ जनाको एन्टिजेन परीक्षण गरिँदा आठ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी एक लाख ९३ हजार ९३ जनाको पिसिआर परीक्षण गरिँदा ३५ हजार ३१२ जनामा संक्रमण भएको छ । संक्रमित ५७१ जनाको मृत्यु भएको छ । एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा संक्रमित हुनेमध्ये सात हजार ९७८ र पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा संक्रमित हुनेमध्ये ३४ हजार ९४५ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन् ।

कोरोना भाइरसविरुद्धको खोपका बारेमा शुरुको अवस्थामा यसको प्रभावकारिता हुन्छ वा हुँदैन भन्नेमा धेरैमा शङ्का थियो । तर अहिले यो खोपले काम गर्ने रहेछ भन्ने सबैमा परेको छ । डा. कमरले यो रोगविरुद्ध खोप लगाउने व्यक्तिमा संक्रमण भइहालेमा दीर्घ रोगीबाहेक कसैको मृत्यु भएको नदेखिएको, कतिपयमा संक्रमण भएर पनि जटिल अवस्था नदेखिएको र समग्रमा कोरोना संक्रमणको दर घटाएको पाइएको बताउछन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.