www.tandavnews.com
Fact ~ In search of truth

२५ घर डुबानमा परेपछि पोखरा विमानस्थल आयोजनासँग स्थानीय असन्तुष्टः आयोजना भन्छ-‘सिंचाई डिभिजले जिम्मा लिनुपर्छ’

अर्जुन गाहा (सुशान्त)
पोखरा/ताण्डव न्यूज

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले उचित ढल व्यवस्थापन नगर्दा बस्ती डुबानमा परेको भन्दै पोखरा महानगरपालिका १४ का स्थानीयले क्षतिपुर्तिको माग गरेका छन् ।

विमानस्थनबाट गएराति आएको बाढी घरघरमा पसेपछि उचित मुल्याङ्कनसहित वडा १४ का २५ घरपरिवारले क्षतिपुर्तिको माग गरेका हुन् । ‘हिजो विमानस्थलबाट आएको बाढीले घर डुबायो, यससम्बन्धी मुल्याङ्कन गरी उचित क्षतिपुर्ति पाउनुपर्याे भन्ने प्रमुख माग हो’ साधनामार्ग टोल विकास संस्थाका अध्यक्षसमेत रहेका लक्ष्मण कार्कीले भने, ‘दोस्रो माग भनेको त्यही बाढी नियन्त्रण गरिदिनुपर्याे भन्ने हो ।’ कार्कीले सोही बाढीका कारण सिंचाई बन्द भएको बताउँदै र बिग्रिएका बाटाहरुको निर्माण गरिनुपर्ने बताए ।

Batas

‘मझेरीमा खानेपानीको मुहान छ, कार्कीले भने, ‘त्यो मुहान नै बाढीले लग्यो, पाइपहरुमा क्षति पुगेको छ भने विजयपुरको लिफ्टिङमा पनि त्यस्तै हालत छ ।’ उनले बाढी बारबार घरभित्रै पसेपछि ज्यान जोगाउन रातभर सडकमै बिताएको बताए । ‘घरभित्रै पानी पसेर हामी सुत्न नपाएर हामी आफ्नो ओढ्ने ओछ्याउने नै लिएर ज्यान बचाउन रातभर सडकमै बस्यौ, उनले थपे, ‘प्रहरीलाई फोन गर्दा पनि कुनै रेस्पोन्स भएन ।’ त्यसपछि वडाध्यक्षलाई फोन गर्दा नउठेको गुनासो गरेका उनले आजित भएर वडा कार्यालय पुगेको सुनाए ।

रातभरको डुबानबाट आजित भएपछि स्थानीय बिहानै विमानस्थल आयोजना प्रमुखलाई घटनाबारे जानकारी गराउन पुगेका थिए । सुरक्षाकर्मीहरुले विमानस्थलभित्र प्रवेश नदिएपछि उनीहरु वडा कार्यालय पुगेका हुन् ।

विमानस्थलाई दोष दिनु स्थानीयको गलत बुझाई हो : आयोजना प्रमुख ई. मनुकर्मी

निर्माणाधीन विमानस्थलदेखि दक्षिणको भेग डुबानमा पर्नुको कारण विमानस्थल भएको भन्ने स्थानीयको बुझाई गलत भएको आयोजना प्रमुख ईन्जिनियर विनेश मुनकर्मीले बताए । उनले सो समस्याको समाधान सिंचाई डिभिजन कार्यालय कास्कीको हातमा रहेको बताउदै विमानस्थललाई दोष दिनु अनुचित भएको उल्लेख गरे ।

‘सिंचाई डिभिजनको हाकिमसँग स्थानीयको साँठगाँठ छ, त्यही भएर पहिल्यैदेखि सबै काम एयरपोर्टको हो भनेर दोष लगाउँछन्’, आयोजना प्रमुख मुनकर्मीले भने, ‘पानी त एयरपोर्टले ल्याएको होईन, आकाशबाट आएको हो, एयरपोर्ट भित्र मात्रै परेको पानी होईन ।’ डुबानमा परेको क्षेत्रमा दुई कुलोको मुहान, काँहुखोला र मणिपालदेखिको पानी बगेर आउँने उनले जनाए ।

उक्त क्षेत्रमा यसप्रकारको समस्या आउनेबारे सम्बन्धित सबैलाई जानकारी गराएको आयोजनाले जनाएको छ । वर्षेनी हुने समस्यालाई निदान गर्न सम्बन्धित पक्षले काम गरिरहेको भएपनि विमानस्थल आयोजनालाई सम्पूर्ण दोष थप्नु गलत भएको उनको तर्क छ । प्रदेश सरकार, सिँचाई डिभिजन र आयोजनाको पहलमा डिजाइन तयार भएको जनाउँदै उनले हालसम्म प्रदेश सरकार र सिँचाई डिभिजनबाट काम नभएको मुनाकर्मीले उल्लेख गरे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.