www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा हिंसा पीडित महिला धेरै

बागलुङ ।

पछिल्लो १० वर्षको अवधिमा साविकको धौलागिरिका तीन जिल्लाका ८१४ जनाले एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिएका छन् । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले बागलुङ, पर्वत र म्याग्दीका हिंसा पीडितका लागि सेवा उपलब्ध गराएको हो ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रम प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । दश वर्षे अवधिमा हिंसा पीडित भएका कारण अस्पतालमा आधारित सेवा लिनेमा महिलाको संख्या बढी छ ।

Batas

यो अवधिमा ९८ पुरुष हिंसाको शिकार भएका छन् । बाँकी सबै महिला रहेको केन्द्र प्रमुख देवी भट्टराईले जानकारी दिनुभयो । हिंसाबाट पीडितका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलब्ध गराउने गरेको छ । ‘हामी सबै सेवा दिन्छौँ, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसा पीडित अझै पनि लुकेर बस्नुभएको छ’, भट्टराईले भने, ‘पहिलेको तुलनामा अहिले केही संख्या बढेको छ, तर लकडाउनमा कम आउनुभयो ।’

पहिलो वर्ष २०६८ सालमा १७ जना हिंसा पीडित संकट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये तीन जना पुरुष थिए । चालु वर्षमा ८७ जनाले सेवा पाउँदा १७ जना पुरुष छन् । संकट व्यवस्थापन केन्द्रका अनुसार हिंसाका कारण आत्महत्या गर्नेको तथ्यांक धेरै छ ।

पीडितमध्ये १५ देखि २९ वर्ष समूहका महिला तथा पुरुषको संख्या धेरै छ भने जन्मेदेखि १४ वर्ष उमेर समूहका नौ जना बालिका हिंसाको शिकार भएर सेवा लिएका छन् । सेवा लिनेमा बागलुङका ७७ जना, पर्वतका सात जना र म्याग्दीमा पाँच जना पीडित रहेको भट्टराईले जानकारी दिए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.